आफ्नै सटरमा पोखरा महानगरले चलायो डोजर, भत्कियो एक मात्रै सार्वजनिक पुस्तकालय
काठमाडौं, भदौ २३ । पोखरा महानगरपालिकाले भाडामा लगाएका आफ्नै स्वामित्वको सटरहरु डोजर लगाएर भत्काएको छ ।
महेन्द्रपुलमा रहेको आर्ट ग्यालरी तथा सार्वजनिक पुस्तकालय समेत भत्काइएको छ । ती दुवै संरचना ती सटरहरुको माथिल्लो तलामा थिए ।
पोखरा सार्वजनिक पुस्तकालय हाल पोखरामा रहेको एउटा मात्र सार्वजनिक पुस्तकालय पनि हो । डोजर लगाउनुपूर्व ३५ दिने सूचनामार्फत अवैध संरचना हटाउन र महेन्द्रपुलमा आफ्नै स्वामित्वमा रहेका सटर खाली गराउन महानगरपालिकाले निर्देशन दिएको थियो ।
महानगरले महेन्द्रपुलको मुखमा रहेका ३२ सटरहरु लामो समयदेखि भाडामा लगाउँदै आएको थियो । पोखरा-९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले संरचना भत्काउने काम एक महिनाभित्रै सक्ने र एक वर्षभित्र सो ठाउँमा पार्क र सेती खोंच हेर्ने पर्यटकीय केन्द्र बनाइने बताएका छन ।
त्यहाँ रहेको सार्वजनिक शौचालयलाई भने नयाँ रुपमा सोही ठाउँमा राखिने उनले जनाए । महेन्द्रपुलमा महानगरका ३ ब्लक ‘क, ख, ग’ मा ३२ सटर छन । महानगरले त्यहाँको सटर विभिन्न व्यक्तिलाई भाडामा लगाएको छ। गललाद्दिन मियाँले क ब्लकका सटर मासिक ४० हजारमा भाडामा लिएका थिए ।
स्रोतका अनुसार राजनीतिक पहुँच र सेटिङमा दिलाइएका ती सटरहरुको सम्झौता २०७७ सालको असारमै सकिएको थियो। तर, उनीहरुलाई हटाइएन । त्यहाँको भाडा कसले उठाइरहेको छ भन्ने खोजविन पनि भएन । स्रोतका अनुसार सम्झौता अनुसार वार्षिक ९० लाखभन्दा बढी रकम भाडाबापतको रकम असुल गर्नेतर्फ पनि महानगरले ध्यान दिएन ।
२०७७ साउनदेखि त्यहाँका व्यवसायीहरुले सटर भाडा तिरेका छैनन् । पोखरा महानगरको छैटौं नगरसभाले सो क्षेत्रमा रहेका भवन र सटर भत्काउने निणर्य गरेको थियो । २०७६ सालमा भएको निर्णय कार्यान्वयन भएको थिएन ।
बिहीबार महानगरले डोजर चलाउँदा आर्ट ग्यालरी भत्काउने निणर्यको कलाकर्मीबाट विरोध भयो । विरोधपछि पोखरा महागनरपालिकाका तत्कालीन मेयर मानबहादुर जिसीले संग्रहालयमै आर्ट ग्यालरी र पुस्तकालय बनाउने आश्वासन दिएका थिए । आर्ट ग्यालरी र पाठकका लागि सार्वजनिक पुस्तकालय बनाउन प्रदेश गण्डकी प्रदेश सरकार तयार भएको छ । संग्रहालयले २० लाख रूपैयाँमा डीपीआर बनाउने जिम्मा दिएको छ ।
वडा नम्बर ४ का निवर्तमान वडाध्यक्ष शंकर बास्तोलका अनुसार महेन्द्रपुलमा रहेका ती सटर भत्काएर त्यहाँको पुस्तकालय र आर्ट ग्यालरी पोखरा ४ मा स्थान्तरण गर्ने सहमति पनि भएको थियो । वडा नम्बर ४ मा बहुउद्देश्यीय भवन बनाउन १ करोड ५० लाख बजेट पनि छुट्याइयो । तर, उक्त योजनामाथि काम हुन सकेन ।














प्रतिक्रिया दिनुहोस्