अनेरास्ववियु क्रान्तिकारीको मञ्चमा प्रचण्ड र जनार्दनबीच घोचपेच !
काठमाडौं, भदौ २२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता जनार्दन शर्माबीच घोचपेच भएको छ ।
बुधबार अनेरास्ववियु क्रान्तिकारीको फोर्स घोषणा गर्ने कार्यक्रममा अध्यक्ष प्रचण्ड र शर्माबीच घोचपेच भएको हो । यस घोचपेचलाई माओवादीको केन्द्रीय पदाधिकारी छनौटसँग जोडेर हेरिएको छ ।
महासचिवका प्रमुख दाबेदार रहेका शर्मा र अर्का नेता वर्षामान पुनबीच विवाद भएपछि प्रचण्डले देव गुरुङलाई महासचिव बनाएका थिए भने शर्मा र पुनलाई उपमहासचिव बनाएका थिए ।
अर्थमन्त्री समेत रहेका शर्माले आफू उपमहासचिव नभई संगठन विभाग प्रमुखको हैसियतमा बोल्न लागेको भन्दै भाषणको शुरुमै असन्तुष्टि व्यक्त गरेका थिए । शर्माले आफु प्रचण्डको समेत आलोचक भएको बताउदै सही नीति र नेतृत्वको रक्षा गर्ने आफ्नो दायित्व भएको बताए ।
उनले भने- ‘सही नीति र नेतृत्वको रक्षा गर्ने मेरो दायित्व हो । नीति र नेतृत्व पनि सही ढंगले बढ्नुपर्छ भन्ने मेरो मान्यता हो । म त अध्यक्षको कडा आलोचक पनि हुँ र सबैभन्दा बढी संरक्षक र रक्षा गर्ने मान्छे पनि हुँ । ‘
शर्माले पार्टीको नीति र नेतृत्वको रक्षा गर्न सकिएन भने आन्दोलन अघि बढ्न नसक्ने भन्दै नेतृत्वको कमजोरीको आलोचना गर्नुपर्ने बताउदा उपस्थितले ताली बजाएका थिए ।
शर्मा बोलेपछि बोलेका प्रचण्डले उनलाई जवाफ दिएका थिए । प्रचण्डले आफुले शर्मालाई रक्षा गरेको र हुर्काएको बताउदै आफ्नो चाहना राम्रा उत्तराधिकारी तयार होउन भन्ने रहेको बताए ।
प्रचण्डले भने- ‘जनार्दनजीले जाँदा जाँदै भन्नुभयो, यो पार्टीको नीति र नेतृत्वको रक्षाको कुरा । म तपाईँहरूलाई के भन्न चाहन्छु भने जनार्दनलाई रक्षा र हुर्काउन पनि प्रचण्डको मुख्य भूमिका हो भन्ने कुरा बुझ्न जरुरी छ । उनको रक्षा र विकास गर्न पनि प्रचण्डले मुख्य भूमिका खेलेको छ ।’
प्रचण्डले आफ्नो चाहना राम्रा उत्तराधिकारीहरू आउन्,नेतृत्व गरुन्, हाम्रो विरासत र हाम्रो परम्परालाई अगाडि बढाउन ठूलो छातीका साथ अगाडि बढुन् भन्ने रहेको बताएका थिए ।















प्रतिक्रिया दिनुहोस्