जिल्ला अदालतको फैसलाविरुद्ध पल शाहले उच्चमा पुनरावेदन दिने, पाउलान त न्याय ?
काठमाडौं , भदौ २२ । बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिना कैद सजाय तोकिएका अभिनेता पल (पूर्णविक्रम) शाहले उच्च अदालत पोखरामा पुनरावेदन गर्ने भएका छन् ।
नाबालिकामाथि बलात्कारको मुद्दामा मंगलबार नवलपुर जिल्ला अदालतले पललाई सफाइ दिए पनि बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिना कैद, २५ हजार जरिवाना र १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो ।
अदालतको पूर्णपाठ आउने वित्तिकै पुनरावलोकनको जाहेरी दर्ता गर्ने तयारीमा आफूहरु रहेको पलका वकिल कमलामोहन वाग्लेले जानकारी दिए ।
‘फैसलाको पूर्णपाठ आउने वित्तिकै हामी उच्च अदालतमा जान्छौं । जाहेरी दिने तयारी अवस्थामा छौं,’ वाग्लेले भने ।
अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै उनको तर्फबाट पोखरा उच्च अदालतमा पुनरावेदन गर्ने तयारी भएको हो ।
यसैबीच, तनहुँ जिल्लामा अदालतमा चलिरहेको पलविरुद्धको यस्तै प्रकृतिको अर्को मुद्दाको पेशी आगामी असोज २ गतेलाई तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्