पीडित बालिकाको प्रहरीमा बयानः सन्दीपले मादक पदार्थ खुवाएर पटक-पटक बलात्कार गरे

काठमाडौं, भदौ २२ । आफूलाई जबरजस्ती करणी गरेको भन्दै एक बालिकाले राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध किटानी जाहेरी दिएकी छन्।

प्रहरी वृत्त गौशालामा मंगलवार साँझ कप्तान लामिछानेविरुद्ध किटानी जाहेरी दर्ता भएको हो।

आफू बलात्कृत भएको जाहेरी लिएर आएपछि जाहेरी दर्ता गरी अनुसन्धान थालिसकेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भरतबहादुर बोहराले जानकारी दिए। कप्तान लामिछानेविरुद्ध प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दर्ता भएको हो।

पीडित बालिकाको जाहेरीपरेसँगै बालिकाको स्वास्थ्य परीक्षण समेत गरिसकिएको छ। उनीविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी गरेको प्रहरीले जनाएको छ। पीडित बालिका काठमाडौंको एक कलेजमा अध्ययनरत हुन्। उनी लामिछानेको ‘फ्यान’ भएको प्रहरीले बताएको छ ।

सुरुमा सामाजिक सञ्जाल स्न्यापच्याटमार्फत उनीहरूबीच कुराकानी हुने गरेको प्रारम्भिक अनुसन्धानले जनाएको छ। स्न्यापच्याटमार्फत नै लामिछानेले उनीसँग भेट्ने प्रस्ताव राखेका थिए। उनीहरूबीचको घटना लामिछाने केन्या जानु अघिल्लो दिनको रहेको बताइएको छ।

सो दिन लामिछाने युवतीलाई लिन आफ्नो कारसमा मध्यबानेश्वरस्थित होस्टल नजिक पुगेका थिए । त्यसपछि उनीहरू नगरकोट घुम्न गएको र फर्कन ढिला भइसकेको थियो।

‘उताबाट फर्किएर आउँदा मध्यराति भइसकेको थियो,’ पीडितको भनाइ उदृत गर्दै गौशाला प्रहरीका एक अधिकृतले भने । त्यसपछि राति ११ बजेपछि सन्दीपले होटलमा बस्न पीडित बालिकालाई प्रस्ताव गरेको बताइएको छ।

होस्टल पनि बन्द भइसकेपछि पीडित युवती उनीसँग होटलमा बस्न बाध्य भएको प्रहरी स्रोतले बताएको छ । त्यसपछि उनीहरू पिंगलास्थिानस्थित होटलमा बसेका थिए।

होटलमा २ वटा कोठा लिन पीडितले भनेपनि सन्दीपले नमानेको जाहेरीमा उल्लेख गरिएको छ। त्यसपछि राति मादक पदार्थ दिई लठ्याएर दुई पटकसम्म लामिछानेले पीडित बालिकालाई बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको प्रहरीको भनाइ छ।

प्रहरीले अहिले पिंगलास्थान र नगरकोटमा गएको होटलको सीसी टिभी फुटेज संकलन गर्न थालेको जानकारी दिएको छ । यता सन्दीप घटनाको भोलिपल्ट नेपाली क्रिकेट टोलीको नेतृत्व गर्दै केन्या गएका थिए ।

केन्यामा पाँच वटा टी–२० क्रिकेट खेलेपछि उनी उतैबाट क्याराबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट खेल्न जमैका गएका थिए । अहिले उनी त्यहीँ छन् ।

प्रतिक्रिया दिनुहोस्