इन्द्रजात्रा आजदेखि सुरू, वसन्तपुरमा ठड्याइयो य:सिं

काठमाडौं, भदौ २२ ।  काठमाडौंको प्रसिद्ध इन्द्रजात्रा बुधबारदेखि सुरु भएको छ । आठ दिनसम्म मनाइने परम्परागत साँस्कृतिक जात्रा हुनमानढोकामा धार्मिक विधिपूर्वक लिंगो अर्थात य: सिं ठड्याएपछि सुरु भएको हो ।

प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको हनुमानढोका परिसरमा इन्द्रको पूजाआजा गरी इन्द्रध्वजा सहितको लिङ्गो ठड्याएसँगै जात्रा सुरु हुने गर्छ । बुधबार बिहान ७:१५ बजेको साइतमा लिंगो ठड्याइएको हो ।

इन्द्रजात्रालाई नेपाल भाषामा ‘यें या:’ भनिन्छ । यें भनेको कान्तिपुर नगर र या: भनेको मुख्य जात्रा हो । इन्द्रजात्राका बेला इन्द्रजात्रासम्बन्धी सबै देवीदेवता पनि सार्वजनिक प्रदर्शनका लागि बाहिर ल्याउने चलन छ ।

भक्तपुरको चित्तपोलस्थित य: सिंगुँ अर्थात जंगलबाट ल्याइएको ३२ हात लम्बाइको लिंगो मानन्धर समुदायले उठाउने प्रचलन छ । परम्परागत बाजा, गुरुजुको पल्टन र मंगलधुनका साथ तोप पड्काएर लिंगो ठड्याइन्छ ।

इन्द्रलाई वर्षा र सहकालको देवता मानिन्छ । नेवार समुदायमा मनाइने यो जात्राको उद्गम थलो हनुमानढोका दरबार क्षेत्र मानिन्छ । आठ दिनसम्म विभिन्न बाजा बजाएर नाच, गान, रथयात्रा गरी यो पर्व मनाइन्छ । हिन्दू र बौद्ध धर्मावलम्बी नेवार समुदायको यो साझा चाडका रूपमा लिइन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्