सिट बाँडफाँट कार्यदलको बैठक बस्दै , आज पुग्ला त टुंगोमा ?
काठमाडौं, भदौ २२ । सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि गठन गरेको कार्यदलको बैठक आज पनि बस्दैछ।
दलहरूले पाउने सिट संख्या टुंगो लगाउने गरी बैठक बस्न लागेको हो । कार्यदलको बैठक बुधबार साँझ ५ बजेका लागि बोलाइएको छ।
सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूहरूबीच सहमति भइसकेको र त्यसलाई लिपिबद्ध गर्न मात्र बाँकी रहेकोले बताएका छन्। बुधबार बस्ने कार्यदलको बैठकले प्रतिवेदन नै तयार पार्ने उनको भनाइ छ।
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ८६ सिटमा र बाँकी सिट अन्य दलहरूले पाउने गरी सहमति जुटाइएको स्रोतको भनाइ छ।
गठबन्धन आबद्ध पाँचै दलले ४ मंसिरमा हुने निर्वाचनका लागि सिट भागबन्डाको मुद्दा मिलाउन भन्दै २० साउनमा ११ सदस्यीय कार्यदल बनाएका थिए।
कार्यदलको पहिलो बैठक २३ साउनमा बसेको थियो भने बैठकले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई संयोजक बनाएको थियो।
कार्यदलभित्र सहमति हुने अवस्था नबनेपछि कार्यदलले शीर्ष तहका नेतालाई नै सहमतिको गाँठो खोल्ने जिम्मा दिएर प्रतिवेदन बुझाइसकेको छ।
शीर्ष तहबाट निर्वाचन क्षेत्रअनुसार सिट बाँडफाँटको आधार खोज्ने प्रयास जारी छ।















प्रतिक्रिया दिनुहोस्