अपांगता भएका व्यक्तिका लागि राष्ट्रिय नीति बनाउने सरकारको तयारी
काठमाडौं , भदौ २१ । सरकारले अपाङ्गता भएका व्यक्तिका लागि राष्ट्रिय नीति बनाउने तयारी गरेको छ ।
अतुल्य फाउण्डेशनले आज ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव डिल्लीराम शर्माले यस्तो बताएका हुन् ।
उनले मन्त्रालयले अपाङ्गता भएको व्यक्तिको राष्ट्रिय नीति बनाउने तयारी थालेको र राष्ट्रिय नीतिको विषयमा एक चरणमा छलफल चलिरहेको पनि बताए । उनले समावेशी विपद जोखिम न्यूनिकरण सम्बन्धी दुई दिने कार्यशाला गोष्ठिबाट निस्किएको निस्कर्षलाई पनि समेटेर राष्ट्रिय नीतिमा समावेश गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
सचिव शर्माले विपद्जन्य जोखिमको समस्यामा सबै भन्दा बढी अपाङ्गता भएका व्यक्ति पर्ने गरेको उल्लेख गर्दै उनीहरुलाई लक्षित गरेर नीति बनाउन लागेको बताए ।
उनले राष्ट्रिय, अन्तर्राष्ट्रिय संघसंस्थासँग विकासको क्षेत्रमा समन्वय, सहकार्य गरी आगामी दिनमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिको हक, अधिकारको कार्यान्वयन र असल जीवन प्रणालीको विकासका लागि सहकार्य गर्ने बताए ।
सोही कार्यक्रममा अपाङ्गता समावेशी विपद जोखिम न्यूनिकरण सम्बन्धी जानकारी मूलक हाते पुस्तिका पनि विमोचन भएको छ। पुस्तकमा नेपाली, अंग्रेजी र बेल संस्करणमा विमोचन भएको हो ।
पुस्तक विमोचनपछि अतुल्य फाण्डेशनका अध्यक्ष पल्लभ पन्तले सरकारले अपनत्व ग्रहण गरेर स्वामित्व लिएकोमा खुशी प्रकट गरे ।
प्रतिक्रिया दिनुहोस्