एक्शनमा बालेन: डेढ लाख अवैध संरचना भत्काउँदै काठमाडौं महानगर

काठमाडौं, भदौ २१ ।  नयाँ बसपार्कस्थित मित्रनगर टोल सुधार समितिदेखि दूरसञ्चार कार्यालयसम्म दायाँ–बायाँ निर्माण भएका अनधिकृत संरचना काठमाडौं महानगरपालिकाले भत्काएको छ । डोजरसहित पुगेको महानगरकोे नगर प्रहरीले सोमबार यस क्षेत्रका डेढ सय अवैध संरचना भत्काएको हो ।

महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार घरअगाडि अवैध संरचना बनाएर सटर निकाल्ने, टप निकाल्ने र त्यसभित्र पसल व्यवसाय सञ्चालन गरेको जानकारी पाएपछि हटाउन नगर प्रहरीले अग्रिम सूचना दिएको थियो ।

उक्त सूचना अटेर गरेपछि सोमबार नगर प्रहरीले हटाएको हो । ‘अनधिकृत संरचना आफैँ भत्काउनुस् भनेका थियौँ, तर उहाँहरूले मान्नुभएन,’ उनले भने, ‘त्यसपछि हामीले डोजर चलायौँ ।’ उनका अनुसार नगर प्रहरीले यसअघि कोटेश्वर, दरबारमार्ग, न्युरोड, सुन्धारा, बुद्धनगर, टेकुलगायत क्षेत्रमा सात सयभन्दा बढी संरचना भत्काइसकेको छ ।

काठमाडौं महानगरको अध्ययनअनुसार सडकसँग जोडिएका अधिकांश घरले मापदण्ड मिचेका छन् । त्यसमध्ये पनि धेरैले त नक्साविपरीत घर बनाएका छन् । त्यसबाहेक केहिले घर बनाइसकेपछि त्यसको साइटमा अवैध संरचना खडा गरेर, सटर निकाल्ने, टप निकाल्ने र त्यही संरचनामा व्यापारसमेत गर्दै आएको भेटिएको छ । काठमाडौंमा मुख्य सडक र सहायक सडकसँग जोडिएका करिब डेढ लाख घरले अवैध संरचना बनाएको प्रारम्भिक अध्ययनले देखाएको छ ।

महानगरले गोंगबुका तीनवटा दोहोरी साँझ हटायो

काठमाडौं महानगरपालिकाले गोंगबु बसपार्क क्षेत्रमा बनेका अनधिकृत संरचना भत्काउन एक साताअघि निर्देशन दिएको थियो । निर्देशन अटेर गरेपछि सोमबार महानगरको टोली डोजरसहित त्यस क्षेत्रमा पुगेको थियो । यसक्रममा नगर प्रहरीले गोंगबुमा फेला पारेको सुरुङजस्ता कोठामा सञ्चालित दोहोरी साँझ र भट्टी पसल हटाएको छ ।

प्रहरीले यस्ता तीनवटा दोहोरी साँझ हटाएको जनाएको छ । केही भट्टी पसलहरू पनि भत्काएको छ । अन्य पक्की भवनको भूमिगत तलामा सञ्चालित पाँचवटा होटेल तथा दोहोरी साँझ पनि हटाइएको छ । प्रायः सरकारी निगरानी नहुने भएकाले त्यस क्षेत्रमा अझै कैयौँ घरले सडक र खाली जग्गा मिचेको हुन सक्ने महानगरको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्