राप्रपाले कुनैपनि दलसँग आधारभुत रुपमा गठबन्धन गर्दैन: लिङ्देन

काठमाडौं, भदौ २० । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीले कुनैपनि दलसँग आधारभुत रुपमा गठबन्धन नगर्ने बताएका छन् ।

नेपालगन्जमा सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो
बताएका हुन् । उनले आवश्यकता अनुसार कुनै दलसँग सिटको आधारमा सहकार्य गरेर मात्र अगाडि बढ्न सक्ने बताए।

अहिलेसम्म नेकपा एमालेसँग सहकार्य गर्ने विषयमा भने छलफल अघि बढिरहेको उनले जानकारी दिए।राप्रपाले विगतमा जस्तो देशभर सिट नछाड्ने संकेत उनले गरे। सहकार्य गर्ने दललाई एउटा सिट छाड्ने र अर्को सिट आफुले लिने गरी तालमेल गर्ने उनको भनाइ रहेको छ ।

सञ्चारकर्मीको प्रश्नमा उनले ऐन नै संसोधन गरेर संसदको आयु मंसिर ४ गते पछिसम्म पनि लम्ब्याउन खोजेपछि आफू त्यो अनैतिक काममा सामेल नहुने गरी संसद पदबाट राजीनामा घोषणा गरेको लिङ्देनले प्रष्ट्याए।

प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन घोषणा भएपछि संसदलाई लम्ब्याउन नहुने र चुनावी सरकार बनाउनुपर्ने आफूहरुको प्रस्तावलाई सुनुवाई नगरिरहेको अवस्थामा ऐन संशोधन गरेर नै संसदको आयु थप्न खोजिएपछि राजिनामा घोषणा गरिएको बताए।

बर्दियामा आयोजना हुन लागेको पार्टीको कार्यक्रममा सहभागी हुन अध्यक्ष लिङ्देन सहित पार्टीका शिर्ष नेताहरु नेपालगन्ज आईपुगेका थिए। साथै पछिल्लो समयमा मुलुकमा वैदेशिक हस्तक्षेप बढिरहेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्