शीर्ष नेता को कहाँबाट उम्मेदवार बन्दै छन् ?

काठमाडौं, भदौ २० ।
एमाले पदाधिकारी पुरानै निर्वाचन क्षेत्रबाट भए सिफारिस

एमालेका १९ मध्ये १३ जना पदाधिकारी आगामी ४ मंसिरको निर्वाचनका लागि प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन् । अध्यक्ष केपी ओली झापा– ५ बाट उम्मेदवार बन्ने तयारीमा छन् । ओलीसहित उपाध्यक्ष सुवास नेम्वाङ, सचिवद्वय योगेश भट्टराई र रघुवीर महासेठको नाम सिफारिस हुन बाँकी छ । पदाधिकारीमध्ये उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा बादल प्रतिनिधिसभामा समानुपातिकतर्फ उम्मेदवार बन्दै छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं–५ बाट, उपाध्यक्ष विष्णु पौडेल रुपन्देही–२बाट, अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डे, उपाध्यक्ष युवराज ज्ञवाली दाङ–३ बाट चितवन– १ बाट सिफारिस भएका छन् ।

महासचिव शंकर पोखरेल दाङ क्षेत्र नम्बर २ बाट एकल उम्मेदवार सिफारिस भएका छन् । अघिल्लोपटक २–क बाट प्रदेश सभामा निर्वाचित पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री भएका थिए । उपमहासचिव प्रदीप ज्ञवालीको नाम गुल्मी–१ बाट, अर्का उपमहासचिव तथा गण्डकीका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ यसपटक पनि प्रदेश सभा सदस्यमै उम्मेदवार बन्ने भएका छन् । अर्का उपमहासचिव विष्णु रिमाल नुवाकोट– १ बाट सिफारिस भएका छन् ।

सचिवहरू टोपबहादुर रायमाझी अर्घाखाँचीबाट, गोकर्ण विष्ट गुल्मी– २ बाट, छविलाल विश्वकर्मा रुपन्देही– १ बाट, लेखराज भट्ट कैलाली–४ बाट सिफारिस भएका छन् । सचिव योगेश भट्टराई ताप्लेजुङ र अर्का सचिव रघुवीर महासेठ धनुषा–४ बाट उम्मेदवार बन्दै छन् । पदाधिकारीहरूमध्ये उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको नाम भने सिफारिस भएको छैन ।अघिल्लोपटक काठमाडौं– ८ को ‘क’बाट प्रदेश सभामा निर्वाचित शाक्यले समानुपातिकमा बस्ने रुचि देखाएपछि एमाले काठमाडौंले उनको नाम सिफारिस नगरेको हो ।

अर्का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ पनि समानुपातिकबाट उम्मेदवार बन्ने योजनामा छन् । सोही कारण उनको नाम पनि क्षेत्रीय कमिटीले सिफारिस गरेको छैन । त्यस्तै, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम– २ बाट उम्मेदवार बन्दै छन् । पूर्वउपाध्यक्ष भीमबहादुर रावल अछाम– १ बाट सर्वसम्मत सिफारिस भएका छन् । रावलको एकल नाम सिफारिस गरिएको अछाम इन्चार्ज झपट बोहराले जनकारी दिए । पूर्वउपमहासचिव घनश्याम भुसाल रूपन्देही–३ बाट उम्मेदवार सिफारिस भएका छन् । भुसालसहित वासुदेव घिमिरे, दुर्गा भुसाल र सर्वजित शाहको नाम सिफारिस भएको छ ।

घोषणापत्रका लागि सुझाव आह्वान

एमालेले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन घोषणापत्रमा समावेशका लागि पार्टी सबै मित्र तथा शुभेच्छुकसँग सुझावको आह्वान गरेको छ । अध्यक्ष केपी ओलीको नेतृत्वमा गठित ‘घोषणापत्र मस्यौदा कमिटी’ले घोषणापत्रमा समावेश गरिने विषयवस्तुका सन्दर्भमा समग्र पार्टी पंक्तिबाट १५ भदौभित्र सुझाव संकलन गरेको थियो । पार्टीका सबै निकाय तथा कमिटी, विभाग, पार्टीसम्बद्ध जनसंगठन र पार्टीका नेता–कार्यकर्ताबाट सुझाव लिएलगत्तै एमालेले पार्टीबाहिरका शुभेच्छुकहरूबाट २५ भदौभित्र सुझाव आह्वान गरेको हो ।

सबै पदाधिकारीलाई प्रत्यक्षमा उठाउने कांग्रेसको नीति
प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका सबै पदाधिकारी प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेदवार बन्ने भएका छन् । देउवासहित १३ जना पदाधिकारी निर्वाचन क्षेत्रबाट प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस भएका हुन् । जसअनुसार प्रधानमन्त्री देउवा डडेल्धुराबाट सर्वसम्मत सिफारिस भएका छन् । उपसभापति पूर्णबहादुर खड्का सुर्खेत १ र अर्का उपसभापति धनराज गुरुङ स्याङ्जा १ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन् ।

महामन्त्रीहरू गगन थापा काठमाडौं– ४ बाट र विश्वप्रकाश शर्मा झापा– १ बाट सिफारिस भएका छन् । सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय(डिना) मकवानपुर– २, किशोरसिंह राठौर बाँके ३ र बद्री पाण्डे बाजुराबाट। भीष्मराज आङ्देम्बे पाँचथर, महेन्द्र यादव धनुषा– ४, उमाकान्त चौधरी बारा– १, जीवन परियार कास्की– १, फरमुल्लाह मन्सुर बारा– ३ बाट सिफारिस भएका छन् ।

नेता रामचन्द्र पौडेल तनहुँ १ बाट सिफारिस भएका छन् । नेता शेखर कोइराला मोरङ ६ बाट सिफारिस भएका छन् । पूर्वमहामन्त्री तथा अर्का नेता कृष्णप्रसाद सिटौला झापा– ३ बाट प्रत्यक्षतर्फ उम्मेदवारका लागि सिफारिस भएका छन् । पूर्वउपसभापति विजय गच्छेदार सुनसरी ३ बाट, सुजाता कोइराला मोरङ २ बाट, प्रवक्ता डा. प्रकाशशरण महत नुवाकोट १ बाट, पूर्वअर्थमन्त्री डा. रामशरण महतको नाम पनि सिफारिस भएको छ । त्यस्तै, पूर्वमहामन्त्री शशांक कोइराला पूर्वी नवलपरासी– १ बाट सिफारिस भएका छन् ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदाधिकारी र प्रभावशाली नेताहरू प्रत्यक्षतर्फ नै प्रतिस्पर्धाका लागि रुचि राखेको बताए । ‘पार्टीको नीति नै पदाधिकारी र प्रभावशाली नेतालाई प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेदवारी बनाउने भन्ने होइन, तर प्रायजसो सबैले प्रत्यक्षतर्फ नै निर्वाचन लड्ने रुचि राख्नुभएकाले उहाँहरूको सिफारिस भएको देखिन्छ,’ पौडेलले नयाँ पत्रिकासँग भने, ‘सिफारिसका लागि केन्द्रले दिएको समय २० भदौसम्मको हो । केन्द्रमा सिफारिस आउने क्रममा छ । पार्टीले शीर्ष र प्रभावशाली नेतालाई प्रत्यक्षतर्फ नै व्यवस्थापन गर्ने नीतिलाई प्राथमिकतामा राखेको छ ।’

प्रचण्ड चितवन, माधव नेपाल रौतहटबाट सिफारिस

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ चितवन– ३ र गोर्खा– १ बाट उम्मेदवार सिफारिस भएका छन् । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गोर्खा– २ बाट सिफारिस भएका छन् । उपाध्यक्ष कृष्णबहादुर महरा दाङ– २ बाट, महासचिव देव गुरुङ लमजुङबाट, उपमहासचिव वर्षमान पुन रोल्पाबाट, पम्फा भुसाल ललितपुर–३ बाट, जनार्दन शर्मा रुकुम पश्चिम, गिरिराजमणि पोखरेल महोत्तरी–१, शक्ति बस्नेत जाजरकोट, हरिबोल गजुरेल सिन्धुली– ३, मात्रिका यादव धनुषा– १ बाट उम्मेदवार बन्ने तयारीमा रहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ । सचिवहरूमध्ये चक्रपाणि खनाल कपिलवस्तु– १, देवेन्द्र पौडेल बाग्लुङ– २, हितमान शाक्य काठमाडौं– ९, डिलाराम आचार्य रूपन्देही– ५ र राम कार्की ओखलढुंगाबाट उम्मेदवार बन्ने तयारीमा छन् । सचिव हितराज पाण्डे भने गोर्खा– १ बाटै उम्मेदवार बन्ने तयारीमा छन् ।

नेपालको नाम थप दुई क्षेत्रबाट पनि सिफारिस

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रतिनिधिसभाको प्रत्यक्षतर्फ तीन ठाउँबाट उम्मेदवार सिफारिस भएका छन् । नेपाल काठमाडौं– २, रौतहट– १ र ४ बाट उम्मेदवार सिफारिस भएका छन् । तीन ठाउँबाट सिफारिस भए पनि नेपाल अन्ततः रौतहट– १ बाटै लड्ने तयारीमा छन् ।

सम्मानित नेता झलनाथ खनाल इलाम– १, उपाध्यक्षमध्ये राजेन्द्र पाण्डे धादिङ– २, प्रमेश हमाल ललितपुर– ३, नागेन्द्र चौधरी पर्सा– २ र धर्मनाथप्रसाद साह सिराहा– ४ बाट सिफारिस भएका छन् । त्यस्तै, महासचिव डा. बेदुराम भुसाल रूपन्देही– १, उपमहासचिव विजय पौडेल रूपन्देही– १ र काठमाडौं– ९ बाट सिफारिस भएका छन् ।

उपमहासचिवहरू जगन्नाथ खतिवडा उदयपुर– १, गंगालाल तुलाधार धादिङ– २ र प्रकाश ज्वाला सल्यानबाट सिफारिस भएका छन् । सचिवहरू राजेन्द्र राई भोजपुर, रामकुमारी झाँक्री गुल्मी– २ र जीवनराम श्रेष्ठ काठमाडौं– ८ बाट सिफारि भएका छन् ।

उपेन्द्र यादव चार क्षेत्रबाट सिफारिस
जसपा अध्यक्ष उपेन्द्र यादव चार निर्वाचन क्षेत्रबाट उम्मेदवारका लागि सिफारिस भएका छन् । उनी सिराहा १ र २, बारा २ र मोरङ ५ बाट सिफारिस भएका हुन् । यसअघि सप्तरी २ बाट निर्वाचित उनी कहाँबाट उठ्छन् भन्ने निश्चित भइसकेको छैन । जसपा संघीय परिषद् अध्यक्ष अशोक राईको नाम खोटाङ र सुनसरीबाट सिफारिस भएको छ । जसपा नेता राजेन्द्रप्रसाद श्रेष्ठ काठमाडौं ७ बाट सिफारिस भएका छन् ।

लोसपाका उम्मेदवार आज सिफारिस हुँदै
अन्य दलहरूमा धमाधम उम्मेद्वार सिफारिस भइरहे पनि लोसपामा भने क्षेत्रीय कमिटीमै निर्णय हुन बाँकी छ । लोसपा नेता केशव झाका अनुसार भदौ २५ गतेसम्म सिफारिस म्याद भएकाले सोमबारबाट क्षेत्रिय कमिटीले निर्णय गर्ने तयारी छ । तर, शीर्ष नेताहरूका हकमा लगभग निर्वाचन क्षेत्र ‘क्लियर’ रहेको उनले बताए । अध्यक्ष महन्थ ठाकुर महोत्तरी ३, वरिष्ठ नेता राजेन्द्र महतो धनुषा ३, शरत्सिंह भण्डारी महोत्तरी २ र अनिल झा रौतहट १ मा उठ्ने पक्का रहेको उनले जानकारी दिए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्