महाभियोग भ्रामक हो , सत्यता छैन : जबरा

काठमाडौं, भदौ १९ ।  निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूमाथि लागेको महाभियोग भ्रामक भएको बताएका छन्।

तेस्रो दिन बयान दिने क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले महाभियोग भ्रामक र निर्थक रहेको बताएका हुन्।  उनले भने,’ महाभियोग आरोप भ्रामक हो। सत्यता छैन। निर्थक छ।’

दायित्वबाट नचुकेको उनको भनाइ छ। उनले न्यायीक नियुक्ति, सरुवा र काजमा एकरत्ती पनि आफू नचुकेको दावी गरेका छन्।
संविधानले तोकेको दायित्व र कर्तव्यबाट एक इन्च पनि बाहिर नगए बताए। उनले भने,’संविधानबमोजिम नियुक्त भएको हुँ। संविधानले तोकेको दायित्व र कर्तव्यबाट एक इन्च पनि बाहिर गएको छैन।’

संविधानको पालना गर्दागर्दै पनि राजनीतिक दलहरुले विज्ञप्ति निकालेर आफूमाथि प्रतिशोध साँध्न खोजेको आरोप लगाए।
उनले महाभियोग लगाएको साढे ६ महिना हुँदासम्म यसको जवाफ पाउन नसकेको धारणा व्यक्त गरे।

न्यायालयमा विचलन ल्याएको, भ्रष्टाचार र बिचौलियाले प्रवेश पाएको र कार्यपालिकामा भागबन्डा खोजेको लगायतका आरोप जबरामाथि लगाइएको छ। उनीमाथि अनुसन्धान गर्न ११ सदस्यीय समिति गठन गरिएको छ।

प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले भदौ १५ गतेबाट जबराको बयान लिइरहेको छ। बयानका लागि ४३ वटा प्रश्न तयार पारिएका छन्।

प्रतिक्रिया दिनुहोस्