ललितपुर महानगरले पनि अनधिकृत संरचना हटाउन थाल्यो

काठमाडौं, भदौ १७ । काठमाडौंपछि ललितपुर महानगरपालिकाले पनि नियम विपरीत बनाइएका संरचना हटाउन सुरु गरेको छ ।

लगनखेलमा आफ्नै भवनमा नियम विपरीत बनाएको संरचना हटाएर अनधिकृत संरचना हटाउन सुरु गरिएको नगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए ।

ठेक्कामा दिएको त्यो भवनमा फुटपाथसम्म ओगटेर नियम विपरीत क्वालिटी क्याफे सञ्चालनमा थियो । महानगरपालिकाले फुटपाथ ओगट्नेलाई पत्र नबुझाइ पनि कारबाही गर्न मिल्ने भएकाले नगर प्रहरीको टोलीले भत्काएको उहाँले जानकारी दिए । भोलि शनिवारदेखि भने निर्माण सामग्री राखेर सडकमा हिँड्न अप्ठ्यारो भएका संरचना हटाइने उनले बताए ।

यस्तै पत्र बुझाउनुपर्ने अनधिकृत संरचना भत्काउन भने दशैँसम्मको समय दिइएको उहाँले बताउनुभयो । महानगरपालिकाले घर–घरमा गएर माइकिङ गर्दै अनधिकृत संरचना हटाउन निर्देशन दिएको हो । निर्देशन नमानेमा नगर प्रहरीको टोली गएर भत्काउन बाध्य हुने हाछेथुले बताए ।

काठमाण्डौ महानगरपालिकाले अनधिकृत संरचना हटाउने अभियान सुरु गरेपछि देशका विभिन्न नगरपालिकाले पनि अनधिकृत संरचना हटाउने अभियान सुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्