राष्ट्रिय सभा बैठकको शून्य समय : कुन सांसदले के बोले ?
काठमाडौं, भदौ १६ । राष्ट्रिय सभा सदस्य उदयबहादुर बोहराले तुलसीपुर–कपुरकोट सडकखण्ड निर्माणमा लापरबाही भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीबारको राष्ट्रिय सभा बैठकमा शून्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य बोहराले तुलसीपुरदेखि कपुरकोटसम्मको सडकखण्ड निर्माणमा सडक डिभिजन कार्यालय दाङ र ठेकेदारले लापरबाही गरेको बताए । उनले सो सडकखण्डमा मिलेमतो गरी भ्रष्टाचार भएको भन्दै सरकारको ध्यानाकर्षण गराए
राष्ट्रिय सभा सदस्य उर्मिला अर्यालले मधेसमा सिँचाइ र मलको अभावका कारण खेतीयोग्य जमिन बाँझो रहेको बताइन् । उनले यसको समाधानका लागि बहुउद्देश्यीय पहाड–मधेस सिँचाइ आयोजना कार्यान्वयनमा ल्याउनुपर्ने बताइन् । मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण पनि गराइन् । राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले अघोषित रूपमा लोडसेडिङ हुन थालेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले डेंगुको नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए ।
राष्ट्रिय सभा सदस्य भुवनबहादुर सुनारले सहकारीहरूले जनताको रकम लिएर फरार हुने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराए । राष्ट्रिय सभा सदस्य मदनकुमारी साह गरिमाले कैलाली जिल्लामा रहेको पथ्रैया, मोहना, काँडा, कान्द्रा र कर्णाली नदी तटीय क्षेत्रलाई डल्फिन संरक्षण क्षेत्र घोषणा गर्न माग गरिन् ।
राष्ट्रिय सभा सदस्य मोहम्मद खालिदले गत वर्ष सुक्खाग्रसित किसानले पाउने भनिएको राहत रकम सिराहा नगरपालिकाका किसानले हालसम्म नपाएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराए । राष्ट्रिय सभा सदस्य सुरेशकुमार आले मगरले काठमाडौंमा डेंगुको प्रकोप फैलिएको भन्दै यसलाई गम्भीर रूपमा लिएर रोकथामका लागि पर्याप्त तयारी गर्न सरकारको ध्यानाकर्षण गराए ।
राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले आगामी निर्वाचनमा महिलालाई धेरैभन्दा धेरै प्रत्यक्षतर्फ निर्वाचित गराउनुपर्ने बताइन् । उनले बुटवल–काठमाडौंको सडकको दुर्दशा रहेको भन्दै यसको निर्माणको निम्ति सरकारको ध्यानाकर्षण गराइन्।















प्रतिक्रिया दिनुहोस्