चोलेन्द्रसँग दोस्रो दिनको बयान सकियो, दिए ५ र ६ नम्बर प्रश्नको जवाफ
काठमाडौं, भदौ १६ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाभियोग सिफारिस समितिसमक्ष दोस्रो दिन पनि बयान दिएका छन्।जबराले बिहीबार समितिले तयार पारेका ४३ मध्ये ५ र ६ नम्बर प्रश्नको उत्तर दिएका हुन्।
जबरालाई महाअभियोगसम्बन्धी ४३ प्रश्नमध्ये बिहीबार चारवटा प्रश्न सोधिएको थियो। जबराले संसदीय समितिमा करिब अढाई घण्टामा दुईवटा प्रश्नको उत्तर दिएपछि बैठक स्थगित भयो।
सांसदहरु कांग्रेस सांसद प्रदीप गिरिको श्रद्धाञ्जली सभामा जाने भएपछि बिहीबारको बयान बीचमै रोकिएको हो।चोलेन्द्रले बुधबार ४ वटा प्रश्नको जवाफ दिएका थिए। बिहीबार थप दुवटाको दिएपछि ६ वटाको जवाफ सकिएको छ।
बुधबारको बयानका क्रममा उनले २०७८ असार २८ गतेकै शेरबहादुर देउवा नेतृत्वमा सरकार बनाउने गरी जारी गरिएको परमादेशकै कारण महाअभियोग लगाइएको भए त्यसमा आफ्नो कमजोरी देखाउन पनि चुनौती दिएका थिए।
महाभियोग प्रस्ताव दर्ता भएपछि ६ महिनादेखि निलम्बित प्रधानन्यायाधीश जबरासँग प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले बयान लिन सुरु गरेको हो। उनीविरुद्ध सत्तारुढ दलले गत फागुन १ गते महाअभियोग दर्ता गराएका थिए।
प्रतिक्रिया दिनुहोस्