भारतीय सेनाध्यक्ष पाण्डे आइतबार नेपाल आउदै, यस्तो छ भ्रमण तालिका

काठमाडौं, भदौ १५ ।  भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे आगामी आइतबार नेपाल आउने भएका छन् ।

प्रधान सेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा जनरल पाण्डे आइतबार पाँच सदस्यीय भ्रमणदलका साथ नेपाल आउन लागेको नेपाली सेनाले जानकारी दिएको छ ।

जनरल पाण्डे भदौं १९ गतेदेखि २३ गते विहिबारसम्म नेपालमा विभिन्न कार्यक्रममा सहभागी हुने छन् ।

यस क्रममा जनरल पाण्डेले सैनिक मञ्च टुँडिखेलस्थित विर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्‍डामा सम्मान गारत निरीक्षण, प्रधानसेनापति प्रभुराम शर्मासँग भेटघाट एवं छलफल, भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोग स्वरुप प्रदान हुने विविध सामग्रीहरुको हस्तान्तरण कार्यक्रम लगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया र मध्य कमाण्ड हेडक्वाटरको भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

भ्रमणको मुख्य अंशको रुपमा रहेको नेपाली सेना र भारतीय सेना बीचको परम्परा अनुसार भारतीय सेनाध्यक्ष जनरल पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।

साथै, जनरल पाण्डेले आफ्नो भ्रमणको दौरान प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवासँग औपचारिक भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्