आज तीजको दर खाने तयारी, संस्कृति बन्दैछ विकृति

काठमाडौं, भदौ १३ ।  हरितालिका (तीज) व्रतको तयारी स्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ ।

विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दुधबाट बनेका शुद्ध परिकार खाइन्छ । जसले व्रतका दिन आडिलो बनाउँछ ।

दर नीराहार व्रतका लागि

तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज वर्तालुहरुले शक्ति प्राप्तिका लागि मीठा मीठा एवं आडिलो परिकार दरका रुपमा खाई मङ्गलबारको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाईले छोरी, चेली, दिदी बहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउछन् ।

महिलाहरुले वर्षदिनभर आफुलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाहरुले सार्वजनिक गर्दछन् । जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःख, पीर, मर्कालाई नारीले पोख्ने गरेका छन् ।

तीजको संस्कृति बन्दैछ विकृति

पछिल्ला वर्षहरुमा तीजका नाममा उच्छृङ्खलता र तडक भडक आएको छ । एक महिना अघिदेखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको समाजशास्त्री कीर्तिकुमार राई बताउछन् ।

यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा पनि संस्कृतिविद्, धर्मशास्त्री एवं समाजशास्त्रीहरुले जोड दिएका छन् । एक महिना अघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थालेपनि भाद्र शुक्ल द्वितीयाको बेलुकीको समय शास्त्रीय रुपमा दर खाने दिनका लागि तोकिएको छ । पछिल्लो समय सरकारी कार्यालयमा समेत एक महिनाअघिदेखि नै तीज कार्यक्रमको तामझाम हुने गरेको छ । समाजमा सुरु भएको विकृति रोक्नुपर्ने जिम्मेवारी बोकेका सरकारी कार्यालय नै विकृतिका भासमा जाकिएपछि यसले संस्थागत रुप लिँदै गएको छ ।

दरसँगै सुरु हुँदै चार दिने तीज

सोमबार दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ । यस वर्ष गणेशको उत्पत्ति भएको विश्वास गरिने गणेश चौथी भदौ १५ गते बुधबार, ऋषि पञ्चमी पर्व भदौ १६ गते बिहीबार मनाइने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । गणेश चौँथी प्रातः कालमा तिथि परेका दिन मनाइन्छ ।

ऋषि पञ्चमी भने मध्याह्न कालमा पञ्चमी परेका दिन मनाउनुपर्ने शास्त्रीय विधि छ ।

तीजको आगमनसँगै नेपाली महिलामा उत्साह जाग्ने गरेको छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् ।

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत रहेको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख एवं पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउछन् ।

हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ लगायत देशभरका शिवालयमा लाखौँ महिलाको भीड लाग्ने गर्छ । तीज सुरु भएसँगै रेडियो एवं टेलिभिजनले पनि ‘तीजको रहर आयो बरी लै’ गीत बजाइरहेको सुन्न सकिन्छ ।

‘तीजको गीत परिवारसँगै बसेर सुन्न र हेर्न नसक्ने खालका आए’

‘हाम फालेर मरौँकी त्रिशुलीको पानीमा’
घरमा बसु सौता त माइत सानीमा’
‘सबले गर्छन् घर माइत आफ्नो बरै छैनन् कोही’
‘लेख्या रैछ कर्ममै बाच्नुपर्ने रोइ’

गायिका शर्मिला गुरुङले गाएको यो गीतले महिलाको बेदना बोलेको छ । सङ्गीतकार राजकुमार बगरले सङ्कलन गर्नुभएको यो शब्दमा भनिएजस्तै महिलाका बेदनाका तीज गीत पछिल्लो समय कमै सङ्कलन गरिन्छ । आजकालको तीजमा माइती र चेलीबीचको सम्बन्धका बारेमा भन्दा पनि व्यावसायिक र सस्तो लोकप्रिय हाँसिल हुने किसिमका गीत बजारमा आएका छन् ।

पछिल्ला वर्षका तीजका गीतमा मौलिकता हराउन थालेको छ । नेपाली समाजमा आधुनिकताको प्रभावले यस्ता गीतमा मौलिकताको अभाव बढिरहेकै बेला सरोकारवालाले भने विकृति र विसङ्गति रोक्न चासो देखाएका छन् । हिन्दू नारीहरुको मुख्य पर्वका रुपमा पहिचान बनाएको हरितालिका तीजका अवसरमा गाइने गीत समाज रुपान्तरणमा गुञ्जिनुपर्ने थियो तर, तीजका गीतमा मौलिकपन भेटाउन मुस्किल हुन थालेको गुनासो पनि त्यतिकै मात्रामा नागरिक स्तरबाट सुनिन्छ ।

घरपरिवारसँगै बसी सुन्न र हेर्न नसकिने खालका तीजका गीतले प्रश्रय पाइरहेकै छन् । समाजले पचाउन नसकेका छाडा प्रकृतिका गीतहरु बजारमा एकपछि अर्को सार्वजनिक भइरहेकै छन् । यस्ता गीतप्रति आमनागरिक, कलाकार तथा स्रटाहरुले अश्लिलपना हटाउन र मौलिकपन भरिएका शब्दमा गीत रचना हुनुपर्ने धारणा बाहिएका छन् ।

काठमाडौँ अनामनगरकी ६० वर्षीया हरिकला अधिकारलाई आजकाल बजारमा आएका तीज गीत कति पनि मन पर्दैन । गीतमा चेलीका बेदना, कथा व्यथाभन्दा पनि भड्काउ खालका परिवारसँगै बसेर हेर्न र सुन्नसमेत नसकिने खालका तीज गीत भएका कारण उनलाई सुन्न मन नलागेको हो । उनले भने, “हाम्रा पालामा चेलीबेटीले भोगेका दुःख, दर्दका गीतहरु गाइन्थ्यो, चेलीले वर्षदिन भरी भोगेका पीडालाई गीतको माध्यमबाट सुनाउने गर्दथे, तीजका गीतमा कति मीठा शब्द राखिएको हुन्थ्यो, तर अहिले सुन्न पनि नसक्ने खालका तीज गीत बजारमा आएका छन्, सुन्न पनि नसकिने असभ्य लाग्ने खालका छन् ।”

हरिकलाले भनेजस्तै अहिले बजारमा कतपय तीज गीत परिवारसँगै बसेर सुन्न र हेर्न नसक्ने खालका आएका छन् । एक महिनाअघि बजारमा ल्याइएको ‘पापाकी परी’ नामको गीत श्रृङ्खल शब्द र दृश्य राखिएको जनाउँदै विवादमा तानिएको थियो ।

गायक तथा सङ्गीतकार शिव हमालले सिर्जना गर्नुभएको सो गीतमा ‘मोडल’ करिष्मा ढकालले पेटिकोट लगाएर पानी पँधेरोमा नुहाउँदै, गाउँदै नाच्दै गरेको भिडियो देख्न सकिन्छ । गीतमा ‘के हुन्छ होला है बिहेको राति, अँध्यारो कोठामा अन्जान साथी, सम्झेर गइसक्यो सातो बरिलै’ भन्ने शब्द राखिएको छ । गायिका सुशीला पाठकले गाउनुभएको यो तीज गीत मात्रै होइन उत्ताउलो पहिरन, पश्चिमी शैलीको नृत्य, म्युजिक भिडियो पनि उस्तै खालका हेरिनसक्नु छन्, ती म्युजिक भिडियो बजारमा प्रशस्तै भेटिन्छन् ।

गायक राजु परियारले हरितालिका तीजका गीतमा मौलिकता हराउँदै गएकोमा चिन्ता व्यक्त गर्छन् । उनले भने, “बजारमा आएका सबै तीज गीतमा होइन, केही तीजका गीतमा मौलिकताको कमी हुँदै गएको पाइन्छ, पहिले पहिलेका तीज गीतमा झै अहिलेका तीजका गीतमा मेहनत कमी हुँदा विकृति विसङ्गति बढेको हो ।”

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका उपाध्यक्ष राधिका हमालले विकृति विसङ्गतिमा हटाउनका निम्ति प्रतिष्ठान लागिपरेको बताइन् । गीतमा मौलिकता हराउनुभन्दा पनि समयअनुसार गीतहरु गाउन थालिएको उनको भनाइ छ । तीजका विवादित गीतप्रति प्रतिष्ठानको निगरानी र सचेतनाका कारण यसपालि विकृति र विसङ्गतिले भरिएका गीतमा न्यूनीकरण हुँदै गएको उनको भनाइ छ ।

पछिल्लो समय बजारमा आएका तीज गीतमा चेली र माइतीका बेदनाभन्दा पनि माया प्रेम, महिलाले लगाएको पहिरनको बयानलगायतको विषयमा तीजका गीत गाउने गरिएको छ । यस वर्ष बजार आएका ‘झमझम झम्कना लाउ कि नलाउ मँ’, ‘मै मोटी’, ‘दोदोरो मादल’, ‘ढुङ्गे धारा’, ‘मै राम्रो छैन’, ‘राधा’, र ‘डुबाउला रानीलाई’ लगायतका तीज गीत चर्चामा छन् ।

गायक तथा सङ्गीतकार नारायण रायमाझीले पछिल्लो पटकका तीजका गीतमा मौलिकता गुमेको र विकृति विसङ्गति बढ्दै गएको टिप्पणी गरे । उनले भने, “तीजको महत्व, माइती र चेलीबीच सम्बन्धसँग जोडिएको हुन्छ, तर, यसको महत्व विस्तारै घट्दै गएको छ, पछिल्ला पटकका गीतमा व्यावसायिकताको नाममा विकृति र विसङ्गति बढिरहेको छ ।” तीजको गीत गाउनेमा महिलाभन्दा पुरुषको आकर्षण बढेको उनको धारण छ ।

त्यसो त विगतका वर्षमा तीजका समयमा उत्ताउला खालका तीजका गीतहरु नल्याइएको होइन । ‘पोइल जान पाम’, ‘डिस्कोमा तीज’, ‘छोटो लुगा’, ‘देखियो जामा फाटेर’ ‘तीजमा दरको साटो रक्सी खाइन्छ’ जस्ता गीत पनि शब्द र ‘भिडियो’का कारण विवादमा परेका थियो ।

 

प्रतिक्रिया दिनुहोस्