आज पनि कार्यदलको बैठक बस्दै , लाग्ला सिटको टुङ्गो ?

काठमाडौँ , भदौ १२ । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दैछ । अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलको बैठक बस्न लागेको हो ।

बैठकमा आगामी निर्वाचनमा गठबन्धन दलबीच सिट बाँडफाँटका विषयमा छलफल हुनेछ । गठबन्धनले पाँच दलका ११ नेता सम्मिलित कार्यदललाई प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० वटै क्षेत्रमा गठबन्धनका कुन दलको कस्तो अवस्था छ भनेर तथ्यांकसहितको विश्लेषण गर्ने जिम्मेवारी दिएको छ ।

गएको शुक्रबार बसेको कार्यदलको बैठकमा प्रतिनिधिसभासँगै प्रदेशसभातर्फ पनि गठबन्धन दलहरूबीच सिट बाँडफाँटका विषयमा छलफल भएको थियो ।

सबै विषयमा छलफल गरी कार्यदलले छिट्टै शीर्ष तहलाई प्रतिवेदन बुझाउने कार्यदल सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । निर्वाचनको साझा अवधारणा पनि कार्यदलले नै बनाउने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्