यस्तो छ एमालेको चुनावी रणनीति

काठमाडौं, भदौ १० ।  नेकपा (एमाले)को जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको तयारी सम्बन्धी उल्लेख गरिएको छ ।

ओलीले प्रतिवेदनमा स्थानीय निर्वाचनमा अपेक्षाअनुरूप परिणाम नआएकाले पार्टीपङ्तिमा हारको धङधङी र आरोप–प्रत्यारोप र आपसी आशंका अझै बाँकी रहेको भन्दै यसबाट पार्टीलाई मुक्त गर्नुपर्ने उल्लेख गरेका छन् ।

उनले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारीमा केन्द्रित हुन पनि निर्देशन दिएका छन् । साथै ६ वटा चुनावी रणनीति पनि अघि सारेका छन् ।

क) निर्वाचनको मूल सन्देश र शिक्षालाई स्थापित गर्ने,
ख) प्रतिरक्षात्मक मनोविज्ञानलाई अन्त्य गर्ने,
ग) निर्वाचनको तयारी, परिचालन र मत रक्षामा कहाँ–कहाँ कमी रह्यो भन्ने निर्वाचन समीक्षाबाट निकालिएका निष्कर्षहरूको सूचि (चेक लिस्ट) बनाएर विगतको कमीलाई नदोहरÞ्याउने सुनिश्चित गर्ने ।
घ) स्थानीय निर्वाचनको परिणामलाई आधार बनाएर प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रको अलग–अलग विश्लेषणसहित शक्ति सन्तुलनको समीक्षा गर्ने ।
ङ) पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्ने । यसका लागि स्थानीय निर्वाचनका क्रममा र त्यसभन्दा पहिले पनि रहेका असमझदारी रहेको भए खुलस्त छलफल, आलोचना, आत्मालोचना र अन्य विधिहरूमार्फत समाधान गर्ने र पार्टी एकतालाई बलियो बनाउने ।
च) पार्टीभित्र उत्पन्न समस्यामध्ये कुन असमझदारी हो, कुन असहयोग हो र कुन अन्तरघात हो भन्ने कुराको वस्तुनिष्ठ, निष्पक्ष र सन्तुलित पहिचान गर्ने । असमझदारीलाई छलफलद्वारा, असहयोगलाई आलोचनाद्वारा र अन्तरघातलाई कारबाहीका माध्यमबाट सम्बोधन गर्ने ।
छ) आपसी अन्तरविरोधका कारण कारबाहीको दायरा अनावश्यकरूपमा फराकिलो नहोस् भन्ने कुरामा विशेष सजगता अपनाउने । प्रमाणित र पुष्टि भएका अन्तरघातका सीमित घटनामा विधि पुर्याएर बिना मोलाहिजा कारबाही गर्ने ।

प्रतिक्रिया दिनुहोस्