राष्ट्रपतिले के गर्न खोजेको, भोलि कतै अनिष्ट त हुने होइन ? अध्यक्ष नेपाल

काठमाडौं, भदौ ९ ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीले सैनिक अधिकारीहरुसँग भेट गर्नुले शंका जन्माएको टिप्पणी गरेका छन् ।

आज (बिहीबार) पार्टी पुनर्गठन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका अधिकारीहरुलाई निवासमा बोलाएर डिनर गराउनुले शंका जन्माएको बताएका हुन् । उनले कुनै अनिष्ट हुने हो कि भन्ने प्रश्न उठेको बताए । अध्यक्ष नेपालले राष्ट्रपति र नेपाली सेनाका अधिकारीहरुकोबीचमा भएको भेटवार्ताको सम्बन्धमा गठबन्धनमा छलफल भएको पनि बताए ।

उनले नेपाली राजनीतिमा प्रतिगामी र राजतन्त्रवादी लगायतका शक्तिहरुको क्रियाशिलताको सम्बन्धमा पनि आफूहरुको नजर पुगिरहेको बताएका छन् ।

उनले भने, ‘राष्ट्रपतिका बारेमा पनि कुरा आइरहेका छन् । राष्ट्रपतिले जुन ढंगले पूर्व सैनिक अधिकारीरुलाई बोलाएर जसरी राष्ट्रपति निवासमा भोजन, डिनर दिने कामहरु भयो यसले शंका जन्माएको छ । के गर्न खोजेका छन् राष्ट्रपतिले ? भन्ने प्रश्न खडा भएको छ । भोलि कतै अनिष्ट त हुने होइन ? भन्ने प्रश्नहरु पनि खडा भएको छ । आज बिहान बालुवाटारमा त्यसबारेमा हाम्रो बीचमा छलफल पनि भएको छ । हामीले राष्ट्रिय राजनीतिका यी सबै पक्षहरुको बारेमा निगरानी गरिरहेका छौँ । प्रतिगामी शक्तिहरु, दरबारवादी शक्तिहरु, राजतन्त्रवादी शक्तिहरु, विदेशीहरुको दलाली गर्ने शक्तिहरु नेपालको राजनीतिमा कत्तिको क्रियाशिल छन्, यी सबै कुरामा पनि हाम्रो नजर छ ।’

अध्यक्ष नेपालले गत स्थानीय तहको निर्वाचनमा आएको नतिजाप्रति गौरवबोध गर्नुपर्ने बताएका छन् । उनले २७ प्रतिशत उम्मेदवार उठाउँदा ९ लाख भन्दा बढी भोट पाएको उल्लेख गर्दै सबै ठाउँमा उम्मेदवार उठाएको भए २० लाख भोट पाउने दाबी गरे । उनले २० लाख भोट पाए पार्टीको २० सिटलाई कसैले रोक्न नसक्ने बताए। उनले आगामी निर्वाचनमा समानुपातिक मतले पार्टीको हैसियत देखाउने भएकाले पार्टीको चुनाव चिन्ह प्रचार प्रसारमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।

अध्यक्ष नेपालले सबै पालिकामा पार्टीको संगठन निर्माण गर्न र संगठनलाई चलायमान बनाउन निर्देशन दिए । त्यस्तै पार्टी संगठन र सदस्यहरुको अभिलेखिकरण गर्नुपर्नेमा उनले जोड दिए । उनले चुनावी अभियानमा जुट्न पनि नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्