अतिक्रमण हटाउन दौडधुप, आज पनि नक्सासहित अल्फाबिटा पुगेर बालेनले भत्काए अवैध संरचना

काठमाडौं, भदौ ९ । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सको अनधिकृत संरचना भत्काएको छ। बिहीबार बिहान अनुगमन गरेपछि दिउँसो डोजर लगाएर भत्काइएको हो।

अल्फाबिटाका सञ्चालकले‍ दाबी गरेजस्तो संरचना नक्सा पास गरेर बनाएको नपाइएपछि महानगरले भत्काएको हो। महानगरका मेयर बालेन शाह दोस्रो पटक दिउँसो नक्सा बोकेरै उक्त संरचना भत्काउन डोजर लिएर पुगेका थिए।

बालेन, नगर प्रहरी, नेपाल प्रहरी लगायतको टोली पुगेर अल्फा केयर रहेको संरचना भत्काइएको छ। अवैध संरचनाहरु हटाउने अभियान चलाएका मेयर बालेन नक्सालसहित अल्फाबिटा पुगेर अवैध रुपमा बनाएको संरचनामा डोजर चलाएका हुन्।

उता काठमाण्डौको कीर्तिपुर नगरपालिकाले पनि अवैध रूपमा बनाएका संरचना डोजर चलाएर भत्काएको छ ।

आज बिहीवार नगरपालिकाको वडा नम्बर १० नयाँ बजारमा रहेको नगरपालिकाको नयाँ कार्यालय भवन नजिकैको एक घरको कम्पाउन्डमा बनाएको अवैध संरचना भत्काइएको मेयर राजकुमार नकर्मीले जानकारी दिए ।

नगरपालिकाले जयबहादुर महर्जनको घर जग्गामा बनाएको संरचना भत्काएको हो । नक्सा पास नभएको ठाउँमा संरचना बनाएको, अग्लो पर्खाल बनाएको र त्यहाँ टहरा बनाएको भन्दै नगरपालिकाले डोजर चलाएको हो ।

तीन दिने सूचना निकालेर अवैध संरचना हटाउन भनिए पनि सूचनाको अटेरी गरेपछि भत्काइएको नगरपालिकाले जनाएको छ । काठमाण्डौ महानगरपालिकाले पनि विभिन्न ठाउँमा बनाएका अवैध संरचना भत्काउन थालेको छ ।

 

प्रतिक्रिया दिनुहोस्