बानेश्वर क्षेत्रको अनुगमनमा बालेन, अवैध संरचना हटाउन चेतावनी

काठमाडौं, भदौ ९ ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सहितको टोलि अनुगमनका लागि बानेश्वर र शंखमूल क्षेत्र पुगेको छ। अनधिकृत संरचना हटाउने क्रममा अनुगमनका लागि उनी बिहीबार बानेश्वर र शंखमूल क्षेत्र पुगेका हुन्।

अनुगमनका क्रममा मेयर साहले आज बेलुकीसम्म अनधिकृत संरचना हटाउन निर्देशन दिएका छन्। बानेश्वरको अल्फाबिटा कम्प्लेक्सलाई बेसमेन्टमा सञ्चालन गरेको व्यवसायहरु हटाउन चेतावनी दिए। अल्फाबिटाका प्रतिनिधिसँग भनाभन भएपछि उनले भवनको नक्सा देखाउन निर्देशन दिएका छन्।

अनधिकृत रूपमा बनेका संरचनाका कारण पार्किङमा समस्या आउनुका साथै पैदलयात्रीले सास्ती भोग्नुपरेको गुनासो गरेपछि महानगरले अनधिकृत संरचना हटाउन थालेको छ।

सोहीक्रममा महानगरले बुधबार सुन्धारास्थित काठमाडौं मल र न्युरोडस्थित आरबी कम्प्लेक्समा बनाइएका अनधिकृत संरचनामा डोजर लगाएको थियो।

एउटा प्रयोजनका लागि बनाइएको संरचनामा अरु नै व्यवसाय गरेपछि महानगरले ३५ दिने सूचना निकालेको थियो। सो अवधिमा पनि अटेरी गरेपछि मेयर साह आफैं त्यस्ता संरचना हटाउन अघि सरेका छन्।

प्रतिक्रिया दिनुहोस्