महानगरपालिकाले अवैध संरचना भत्काएपछि आक्रोशमा व्यापारीहरु, भन्छन् – केहि समय दिन पर्थ्यो
काठमाडौं, भदौ ८ । काठमाडौँ महानगरपालिकाले नक्शा पास विना अवैध रुपमा बनाइएको काठमाडौँ मलको संरचना भत्काएपछि स्थानीय व्यापारीहरु आक्रोशित भएका छन्। काठमाडौँ मल छेउमा पसल राखेर व्यवसाय गर्दै आइरहेका उनीहरुले आक्रोश पोखेका हुन्।
एक व्यापारीले महानगरले अवैध संरचना भत्काउने काम स्वागतयोग्य भएपनि मानवताको हिसाबले व्यापारीलाई केही समय दिनुपर्ने धारणा राखे। सबै व्यापारीलाई एक ठाउँ राखेर महानगरले एकपटक कुरा गरेको भए व्यापारीलाई धेरै मर्का नपर्ने उनको भनाई छ।
अर्का व्यापारीले आफूहरुले सञ्चयकोषको जग्गामा संरचना बनाएर व्यापार गर्न ठेकेदारमार्फत सम्झौता गरेको भन्दै सञ्चयकोष र महानगरबीचको सहमतीमा संरचना भत्काएको भए उपयुक्त हुने बताए। उनले आफूहरुको सम्झौता अनुसार अझै साढे दुई वर्ष भोगचलन गर्न बाँकी रहेकाले सञ्चयकोषसँग कुरा गर्ने पनि बताए।
काठमाडौँ मलमै भेटिएका अर्का व्यापारीले आफूहरुले सम्झौता अनुरुप भाडा तिरिरहेको र राज्यलाई कर पनि तिरिरहेको भन्दै संरचना भत्काउँदा लगानी अनुरुपको क्षतिपुर्ति दिनुपर्ने माग गरे। व्यापारीलाई अन्य ठाउँमा व्यवस्थापन गर्नुपर्नेमा पनि उनले जोड दिए।
काठमाडौँ महानगरपालिकाले न्युरोडस्थित आरबि कम्प्लेक्समा पनि नक्शा पास विपरित बनाएको संरचना भत्काएको छ। सो स्थानमा ड्युटीमा खटिएका एक नेपाल प्रहरीका अधिकारीले संरचना भत्काउने मुल जिम्मेवारी महानगरको भएपनि आफूहरु सुरक्षाको निम्ति उपस्थित भएको बताए ो। उनले अण्डरग्राउण्ड पार्किङका लागि नक्शा स्वीकृत गरेर अन्य प्रयोजनका लागि प्रयोग गरिरहेको संरचनाहरु हटाउँदै जाने सूचना आफूले पाएको बताए।
अवैध संरचना हटाउनका लागि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह आफैँ पुगेका थिए।
संरचना भत्काउनका लागि पुगेका एक नगर प्रहरीले अवैध संरचना हटाउनका लागि महानगरपालिकाले ३५ दिने सूचना गोरखापत्रमा प्रकाशित गरिसकेको र सम्बन्धित ठाउँमा पनि टाँस गरेको भएपनि अटेर गरेका कारण महानगरपालिकाले भत्काउनु परेको बताए।
उनले कसैले पनि कानून जान्दिन भन्न नपाउने भन्दै कानूनको अवज्ञा कसैले गर्नु नहुनेमा जोड दिए। आफूहरु महानगरपालिकाले दिएको निर्देशनको पालनकर्ता भएको उनले बताए।
एकैदिन ४ ठाउँका संरचना भत्काइए
काठमाडौंमा आज मात्रै एकैदिन ४ ठाउँका संरचना भत्काइएका छन् । नयाँ बानेश्वर क्षेत्रमा पार्किङका लागि बनाइएको स्थानमा राखिएका पसल हटाएको तेस्रो दिनमै बुधबार मेयर बालेन सुन्धारा, न्युरोड, दरबारमार्ग र बबरमहल क्षेत्रमा अनधिकृत रुपमा बनाइएका संरचना भत्काउन र सम्बन्धित् पक्षको जवाफ मागेका छन् ।
संरचना भत्काउनुअघि सम्बन्धित् पक्षको जवाफ माग्ने र ३५ दिन समय दिएको महानगरले बुधबार सुन्धरास्थित काठमाडौं मलको अनधिकृत रुपमा बनाइएको संरचनामा डोजर लगाएर भत्काएको छ । बुधबार नै मेयर बालेनको उपस्थितिमा महानगरको टोलीले न्यूरोडस्थित आर बी कम्प्लेक्सले बनाएका अनधिकृत संरचना पनि डोजर लगाएर भत्काइएको छ ।
यसैगरी महानगरले बबरमहलमा रहेको जिल्ला अदालत काठमाडौंलाई नक्सा पास भएको विवरण पठाउन पत्राचार गरेको छ । अदालतको भवनको नक्सा पास नभेटिएको भन्दै प्रमाणपत्र पठाउन पत्राचार गरेको महानगरले अदालतको अन्डरग्राउण्डमा आशंका गरेको हो ।
नयाँ बानेश्वरमा पार्किङका लागि बनाइएको अन्डरग्राउण्डमा पसल सञ्चालन भएको पाइएपछि अदालतको अन्डर ग्राउन्डबारे महानगरको चासो बढेको हो । बुधबार नै मेयर बालेन दरबारमार्ग पनि पुगेका छन् । दरबारमार्ग क्षेत्रमा सडकमै जथाभावी पार्किङ गरिएपछि मेयर बालेन सो क्षेत्रमा पुगेका हुन् ।
मेयर बालेन बुधबार नै कोटेश्वर क्षेत्रको फुटपाथ र पार्किङको अनुगमनमा जाने तयारी गरेका छन् । नक्सा पास विपरीत तथा अनधिकृत रुपमा बनाइएको संरचना हटाउन मेयर बालेन महानगरको टोली र प्रहरीसहित पुग्ने गरेका छन् ।














प्रतिक्रिया दिनुहोस्