अवैध संरचना हटाउन मेयर बालेन्द्रको ‘एक्शन’, अहिलेसम्म कहाँ–कहाँ चल्यो डोजर ?
काठमाडौं, भदौ ८ । पछिल्लो समय काठमाडौं महानगरले नक्सा पास गर्दा लिएको प्रयोजनभन्दा अन्य संरचना बनाइएको स्थानमा त्यस्ता संरचना धमाधम भत्काइरहेको छ।
काठमाडौं महानगरपालिकाले नक्सा पासमा उल्लेख भएभन्दा फरक ढङ्गले बनाएका संरचना भत्काउने कामलाई तीव्रता दिएको हो ।
अस्ति सोमवार नयाँ बानेश्वर क्षेत्रका अन्डरग्राउन्डमा राखिएका पसल र संरचना हटाएर पार्किङ गर्ने ठाउँ बनाउने अभियान सुरु गरेको महानगरले आज बुधवार न्युरोड क्षेत्रका संरचना हटाएको छ ।
महानगरपालिकाका मेयर बालेन्द्र साहकै उपस्थितिमा अवैध संरचना डोजर लगाएर हटाइएको हो । महानगरले आज सुन्धाराको काठमाण्डौ मलमा रहेका अवैध संरचना हटाएको छ भने अन्डरग्राउन्डमा राखिएका पसल पनि भत्काएको छ ।
यस्तै न्युरोडको आरबी कम्प्लेक्समा पनि नक्सामा उल्लेख भएभन्दा बाहिरका संरचना महानगरले हटाइदिएको छ । महानगरले आजै न्युरोडको रञ्जना गल्लीमा रहेका अवैध पसल र संरचनामा पनि डोजर चलाएको छ । मेयर बालेन्द्र साहसहितको महानगरको टोलीलाई नेपाल प्रहरी र ट्राफिक प्रहरीले पनि सहयोग गरिरहको छ ।
पार्किङ प्रयोजनका लागि भनेर अन्डरग्राउन्डसहितको नक्सा पास गर्ने तर अन्डरग्राउन्डमै पसल थापेर गाडी भने सडकमा पार्किङ गरेको भन्दै महानगरले यसअघि नै पसल हटाउन निर्देशन दिएको थियो ।
महानगरपालिकाले गएको साउनमै अन्डरग्राउन्डका पसल र अन्य संरचना हटाएर पार्किङ क्षेत्र बनाउन ३५ दिने सूचना जारी गरेको थियो ।
एक अध्ययनअनुसार काठमाण्डौका सबै अन्डरग्राउन्डलाई पार्किङ बनाएमा पार्किङको २५ प्रतिशत समस्या समाधान हुने देखाएको छ । मेयर शाहको यो कदमलाई धेरेले सकरात्मक रुपमा लीएका छन् ।
यता मेयर बालेन्द्र शाहले काठमाडौं महानगरमा गैरकानुनी संरचना बनाएर भाडामा लगाउने व्यक्ति दोषी हुने बताएका छन् । उनले व्यापारीहरु मारमा नपर्ने आश्वासन समेत दिए । मेयर बालेनसँग न्यूरोडमा स्थानीयले सडकमा बेच्न राखेको पानीपुरीसहितका पसल समेत हटाउन माग गरेका छन् ।
त्यसैगरि मेयर साहले सबै खाले अवैध संरचना हटाएरै छाड्ने बताएका छन् । अवैध संरचना बनाउने साना ठूला कसैलाई पनि नछाड्ने अडान लएिका छन्। जिल्ला अदालतको अन्डरग्राउन्ड पनि खाली हुने उनको भनाइ रहेको छ ।














प्रतिक्रिया दिनुहोस्