एमालेले माओवादीसँग तालमेल नगर्ने, गठबन्धनको एक्लै सामना गर्ने

काठमाडौं, भदौ ७ । मंसिर ४ गते  प्रदेश र प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।यसका लागि अहिले नेताहरु छलफल तथा तालमेलको तयारीमा जुटेका छन् ।

यता प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि यसकै छलफलमा जुटेको छ । तर एमालेले आउँदो निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग तालमेल नगर्ने निष्कर्ष निकालेको छ ।

आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको स्थायी कमिटीको बैठकले उक्त निष्कर्ष निकालेको हो । पार्टी प्रचार विभाग प्रमुख एवम् प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार एमालेले एक्लैले चुनाव लडेर सबै कुराको सामना गर्ने अठोट लीएको छ ।

गुरुङको भनाइ अनुसार विचार मिल्नेसँग तालमेल हुन सक्ने बताए पनि माओवादीसँगको सम्भावना सकिएको बताएका छन् ।

‘सुशासन समृद्धिको अभियानमा लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको एजेन्डा मिल्नेसँग तालमेल हुन्छ’, उनले थपे, ‘अब माओवादी र अन्य वाम दलहरुसँगको तालमेल सम्भावना सकिएको छ ।’

यस्तै एमाले अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनबारे ब्रिफिङ पनि गरेका छन्। ओलीले राजनीतिक प्रतिवेदनको तयारीका विषयमा ब्रिफिङ गरेका हुन्।

प्रतिवेदनमा राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति, मुलुकको अहिलेको अवस्था, गठबन्धन सरकारले गरेका गलत काम, चुनावी तयारीलगायतका विषय समेट्ने गरी तयारी गरिएको ओलीले ब्रिफिङ गरेका थिए। राजनीतिक प्रतिवेदनमाथि एक दर्जन स्थायी समिति सदस्यहरूले सुझाव राखेका छन्।

एमालेले ९ भदौमा पोलिटब्युरो, १० र ११ भदौमा केन्द्रीय कमिटी बैठक बोलाएको छ। केन्द्रीय कमिटी बैठकलगत्तै चुनाव परिचालन कमिटीको बैठकबाट औपचारिक रूपमा तयारीमा अघि बढ्ने गरी एमालेले तयारी गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्