काठमाडौं महानगरविरुद्ध प्रदर्शनमा उत्रिए फुटपाथ व्यापारी, भने– बिनाविकल्प रोजीरोटी खोस्न पाइँदैन (फोटोफिचर)
काठमाडौं, भदौ ७ । फुटपाथ व्यापारी विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका छन् । काठमाडौं महानगरपालिकाले फुटपाथमा व्यापार गर्न रोकेपछि उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक संघर्ष समितिको ब्यानरमा फुटपाथ व्यापारी महानगरको कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका हुन् ।
सडक किनारमा स्वरोजगार गरिरहेका सम्पूर्ण श्रमिकहरुको राज्यले अभिलेखिकरण गरि परिचयपत्र उपलब्ध गराउनुपर्ने, सम्पूर्ण सडक स्वरोजगार श्रमिकहरुलाई मापदण्ड बनाई समुचित व्यवस्थापन राज्यले गनुपर्छ, बिना विकल्प विस्थापित गर्न पाइँदैन र राज्य प्रशासनका तर्फबाट भइरहेका अमानवीय गतिविधिहरु बन्द गरि स्वरोजगार श्रमिक र राज्यका बीचमा भएका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने उनीहरुको माग छ ।स्वतन्त्र राष्ट्रिय स्वरोजगार श्रमिक संघर्ष समितिका संयोजक शिशिर भट्टले बिनाविकल्प फुटपाथ व्यापारीहरूलाई विस्थापित गर्न नपाइने बताए ।
आफूहरूले सडक किनारमा स्वरोजगार गरिरहेका श्रमिकको राज्यले अभिलेखीकरण गरी परिचयपत्र उपलब्ध गराउनु पर्ने, सम्पूर्ण सड़क स्वरोजगार श्रमिकलाई मापदण्ड बनाएर उचित व्यवस्थापन गरिनु पर्ने मागे राखेको भट्टले बताए । महानगरले फुटपाथ व्यापारीका लागि विकल्प नदिएर रोजीरोटी खोस्ने काम गरेको भट्टले बताए ।
त्यस्तै, प्रशासनबाट भइरहेको अमानवीय गतिविधि बन्द गरी स्वरोजगार श्रमिक र सरकारबीच भएको सम्झौताहरू कार्यान्वयनमा ल्याउनुपर्ने माग गर्नुपर्ने जनाएका छन् ।
नेपालको संविधान २०७२ को धारा ३३ मा मौलिक हकको रुपमा नेपाली नागरिकले स्वदेशमा काम गरेर खान पाउने व्यवस्थाविपरीत महानगरले व्यवसायीलाई अन्याय गरेको आरोप व्यापारीको छ ।
उनीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सहरी विकास मन्त्रालय, संघीय मामिला तथा स्थानिय विकास मन्त्रालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी, ललितपुर, भक्तपुर र काठमाडौं महानगरपालिकाका मेयरलाई आफ्ना मागसहित पत्राचार गरेका छन् ।
कोरोना महामारी, नाकाबन्दी र महँगी बढ्दै जाँदा सडकमा आएका व्यापारीहरूलाई विस्थापित गरी महानगरले रोजिरोटी खोसिदिएको उनीहरूको आरोप छ । आफ्ना मागहरू ७ दिनभित्र पूरा नगरिएमा कडा आन्दोलनमा उत्रने व्यापारीहरूको चेतावनी छ ।
प्रतिक्रिया दिनुहोस्