राजीनामा दिँदै मधेस प्रदेशका मुख्यमन्त्री राउत

काठमाडौँ , भदौ ७ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले राजीनामा दिने भएका छन् । यसअघि अध्यक्ष उपेन्द्र यादवले मुख्यमन्त्री राउतलाई राजीनामा दिन निर्देशन दिएका थिए ।यसपछि उनले राजीनामाको तरखर गरेको उनीनिकट एक सांसदले जानकारी दिएका छन् ।

मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘बेटी पढाऊ, बेटी बचाऊ’ अन्तर्गत छोरीलाई वितरण गरिएको साइकल खरिदमा भ्रष्टाचार भएको ठहर भएपछि अध्यक्ष यादव मुख्यमन्त्री राउतसँग चिढिएका छन् ।

यता दोस्रो चरणमा गरिएको कुनै ब्रान्ड नभएको १७ हजारवटा साइकल खरिदमा १० करोड ३३ लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

दोस्रो चरणमा भएको १७ हजार साइकल खरिदमा मुख्यमन्त्री राउत र प्रमुख सचिवको संलग्नता नपाइएको भन्दै अख्तियारले उन्मुक्ति दिए पनि मुख्यमन्त्री राउत नैतिक सङ्कटमा परेका छन् । उनको चौतर्फी चर्को आलोचनासँगै राजीनामाको माग उठिरहेको थियो ।

अख्तियारले पहिलो चरणमा भएको १० हजार साइकल खरिद प्रकरणको पनि अनुसन्धान थालेको छ । खरिद प्रक्रियामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै कुनै कागजातमा समेत आफूले हस्ताक्षर नगरेको तर्क गरेर अख्तियारको दण्डबाट उम्केका मुख्यमन्त्री राउत पहिलो चरणमा दुईपटक गरी १४ हजार भएको साइकल खरिद प्रक्रियामा भने संलग्न छन् ।

त्यसैले अख्तियारले पहिलो चरणमा भएको १४ हजार साइकल खरिदको अनुसन्धान गर्न सोझिएको छ । अख्तियारले गत साउन २० गते मुख्यमन्त्री कार्यालयलाई पत्र लेखेर कागजात माग गरेपछि १४ हजार साइकल खरिदको फाइल नै गायब भएको छ । फाइल कार्यालयमा फेला नपरेको र अख्तियारलाई पठाउन खोजबिन भइरहेको मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव कृष्णबहादुर राउतले स्वीकार गरेका छन् ।

सो फाइल मुख्यमन्त्री लालबाबु राउत फस्ने डरले सो फाइल गायब गरेको कार्यालय स्रोतको दाबी छ । मुख्यमन्त्री स्वच्छता अभियानमा पनि व्यापक भ्रष्टाचार भएको भन्दै अख्तियारले अनुसन्धान गरिरहेको छ । स्वच्छता अभियानको ३२ वटा डीपीआर फाइल पनि मुख्यमन्त्री कार्यालयबाट चोरी भइसकेको छ ।

यसले मुख्यमन्त्री लालबाबु राउत झनै बदनाम भएका छन् । त्यसकारण राउतलाई राजीनामा दिन दबाब बढेको हो ।

प्रतिक्रिया दिनुहोस्