बन्दको प्रभाव न्युन, बन्द गराउँदै हिँडने ५२ जना पक्राउ

काठमाडौं , भदौ ७  । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ पार्टीले संयुक्त रुपमा घोषणा गरेको नेपाल बन्दको काठमाडौं उपत्यकामा न्यून प्रभाव देखिएको छ।

बन्द घोषणा गरिएको भनिए पनि मंगलबार उपत्यकामा सामान्य रुपमा नै सवारीका साधनहरु निर्वाधरुपमा आवतजावत भइरहेका छन्। सडक र चोकहरुमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सवारीका साधनहरु अन्य दिनजस्तै सामान्य रुपमा निर्वाध चलिरहेको जानकारी दिएको छ।

उता, नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार बन्द गराउँदै हिँड्न खोज्ने १७ जनालाई पक्राउ परेका छन ।  त्यसैगरि ६ जिल्लाका विभिन्न १० ठाउँमा शंकास्पद वस्तु भेटिएको छ ।

प्रहरीका अनुसार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित साना चार दलले मंगलबार आह्वान गरेको नेपाल बन्दका क्रममा शंकास्पद वस्तु फेलापरेको हो । शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईका अनुसार विभिन्न जिल्लाबाट ५२ बन्दकर्तालाई पक्राउ गरिएको छ । “काठमाडौं उपत्यकालगायत केही ठाउँमा सवारीसाधनमा तोडफोड र आगजनी भएको उनले बताए ।

देशभर बन्दको आंशिक प्रभाव परेको प्रहरीले जनाएको छ ।    ठाउँ -ठाउँमा तोडफोड तथा बम फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्