चुनाव प्रचारमा विदेशी नम्बर प्लेटको सवारी प्रयोग गर्न नपाइने, यी प्रदेशमा विषेश निगरानी

काठमाडौं , भदौ ६ । अबको प्रतिनिधिसभा र प्रदेससभा सदस्‍य निर्वाचनमा विदेशी नम्बर प्लेटको सवारी प्रयोग गर्न नपाइने भएको छ ।
निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुन लागेको निर्वाचनमा विदेशी नम्बर प्लेटको सवारी प्रयोग गर्न नदिने प्रस्ताव अगाडि सारेको छ ।

आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहितामा चुनाव प्रचारमा विदेशी नम्बर प्लेटका सवारी साधनलाई अनुमति नदिने उल्लेख गरिएको छ ।भारतीय सीमानासँग जोडिएका प्रदेश १, मधेश, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका जिल्लाको चुनावलाई लक्षित गरी आयोगले यस्तो प्रस्ताव ल्याएको हो ।

यसअघिका निर्वाचनमा पनि सिमावर्ती जिल्लामा भारतबाट सस्तोमा गाडी भाडामा लिएर चुनावमा प्रयोग हुँदै आएको थियो । अबको निर्वाचनमा भने यस्तो नहा्स भनेर आयोगले यस्तो नियम बनाएको हो । यस्तै दल वा उम्मेदवारले अनुमति लिएको सवारी साधन प्रयोग गरी मतदाता ओसारपसार गर्न नपाइने प्रस्ताव पनि आचार संहितामा उल्लेख गरिएको छ ।

त्यसैगरि आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्‍य निर्वाचनमा उम्मेदवारवालाई बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न दिने प्रस्ताव आएको छ ।निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचन आचार संहितामा दल वा उम्मेदवारले बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने प्रस्ताव आएको हो ।

‘दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्‍याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न बाहेक निर्वाचन प्रचारप्रसार गर्दा राष्ट्रिय झण्डा प्रयोग गर्न गराउन नहुने,’ निर्वाचन आचारसंहिताको प्रस्तावमा उल्लेख छ ।

यसअघिका निर्वाचनमा राष्ट्रिय झण्डाबारे केही उल्लेख नभएता पनि यसपाली गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुले राष्ट्रिय झण्डाको प्रयोग गरेपछि त्यसबारे प्रश्न उठेको थियो ।

सपटक प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि स्वतन्त्र उम्मेदवारहरु उठ्ने देखिएको र उनीहरुले राष्ट्रिय झण्डा नै प्रयोग गर्ने भएकाले पछि विवाद नआओस् भनेर निर्वाचन आयोगले यो प्रस्ताव ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्