हात्तीवनमा प्रचण्ड र नेपालबीच भेटवार्ता, ३ घन्टा के भयो छलफल ?

काठमाडौं, भदौ ६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

सोमबार बिहान उनीहरुबीच ३ घन्टा वार्ता भएको बताएको छ । प्रचण्डका प्रेस संयोजक सुर्य किरणले सोमबार ललितपुरको हात्तीवनमा दुई नेताबीच भेट भएको बताएका छन् ।

बैठकमा सत्ता गठबन्धनमा सिट बाँडफाँटका विषयमा कसरी अघि बढ्ने भन्नेबारेमा उनीहरुबीच छलफल भएको बुझीएको छ ।बैठकमा संयोजन समिति र चुनावी घोषणापत्रका विषयमा छलफल भएको एक नेताले जानकारी दिए।बैठकले बाबुराम भट्टराई र वामदेव गौतमको विषयमा पनि छलफल गरेको थियो।

माओवादी केन्द्रले यसअघि नै बाबुराम भट्टराई र वामदेव गौतमलाई आफ्नो चुनाव चिन्हबाट चुनाव लड्न अनुमति दिइसकेको छ।
यद्यपी उनीहरूले राखेका केही सर्तका विषयमा भने छलफल गर्न बाँकी रहेको माओवादी केन्द्रले जनाएको छ।

सत्तारूढ दलभित्र सिट बाँडफाँटको तयारी भइरहेको छ। यसैका लागि आज सत्तारूढ दलको बैठक बस्दैछ। बैठकमा हुनसक्ने सम्भावित एजेन्डाबारेसमेत छलफल भएको एक नेताले जानकारी दिए।  नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग पार्टी एकताका लागि संयोजन समिति बनाउनेसमेत निर्णय भइसकेको थियो।

संघ र प्रदेशको निर्वाचनको मिति तोकीएसँगै नेताहरुको भेटघाट तथा छलफल तिब्र रुपमा अगाडि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्