पशुपति आर्यघाटमा गरियो कांग्रेस नेता गिरीको अन्त्येष्टि, छोरा सन्तोषले दिए दागबत्ति

काठमाडौं, भदौ ५ । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । नेता गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

आइतबार दिउँसो पशुपति आर्यघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले गिरिको अन्त्येष्टिमा राजकीय सम्मान दिइएको बताए । गिरिलाई उनका छोरा सन्तोष, र भतिजाहरु प्रन्ययन गिरि र सन्दर्भ गिरिले दागवत्ती दिएका छन् ।

उनको अन्त्येष्टिमा सहभागी हुन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, एमाले अध्यक्ष केपी शर्मा ओली , कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता र शुभचिन्तक पशुपति आर्यघाट पुगेका थिए ।

पशुपति आर्यघाट लैजानुअघि श्रद्धाञ्जलीका लागि गिरिको पार्थिव शरीरलाई कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो ।
आर्यघाटमा कांग्रेसका शीर्ष नेता र अन्य दलका शीर्ष नेताहरुले श्रद्धाञ्जली दिएका छन्।

समाजवादी चिन्तक एवं कांग्रेस नेता गिरीको शनिबार राति ७५ वर्षको उमेरमा निधन भएको हो। प्रतिनिधिसभा सदस्यसमेत रहेका गिरी पाँच वर्षदेखि घाँटीको क्यान्सर रोगबाट पीडित थिए।

भारतको मुम्बईस्थित हिन्दुजा अस्पतालमा क्यान्सरको उपचार गराएर फर्किएपछि उनको छातीमा निमोनिया संक्रमण देखिएको थियो। त्यसपछि ललितपुरस्थित मेडिसिटी अस्पतालको सघन कक्षमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

उपचारमा संलग्न डा। सन्दर्भ गिरीका अनुसार शनिबार राति ९ बजेर ३० मिनेटमा निधन भएको हो।

नेता गिरिको निधनले नेपालको समाजवादी र लोकतान्त्रिक आन्दोलनका लागि ठुलो क्षति भएको भन्दै उनको स्मरण भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्