एकीकृत समाजवादीले पार्टी पुनर्गठन दिबसको आयोजना गर्ने

काठमाडौँ, भदौ ५ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यही भदौ ९ गते पार्टी पुनर्गठन दिबसको आयोजना गर्ने भएको छ ।

पार्टी निर्वाचन आयोगमा दर्ता भएको एक वर्ष पुगेको अवसरमा त्यस दिन पार्टी केन्द्रले विशेष कार्यक्रम गरी दिवशको मनाउन लागेको महासचिव डा.बेदुराम भुसालले जानकारी दिनुभयो ।

पार्टीका जनवर्गीय संगठन तथा सबै कमिटीले पनि उक्त दिन देशैभर कार्यक्रमको आयोजना गर्ने छन् । करिब एक वर्षको अवधिमा देशका सबै जिल्लामा संगठन विस्तार गरेको पार्टीले ७५३ पालिका तथा सबै वडामा संगठन विस्तार गर्ने क्रममा छ । नेकपा (एमाले) को वैचारिक दृष्टिकोणबाट असहमति प्रकट गर्दैकेही नेता तथा कार्यकर्ताले बिद्रोह गरी उक्त पार्टी स्थापना गरिएको थियो ।

पार्टीले आगामी आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारको सिफारिस एवं निर्णय गर्न समय तालिका तय गरेको छ ।  प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले यही भदौ १० गतेभित्र जिल्ला कमिटीमा उम्मेदवारको नाम सिफारिस गर्ने जनाइएको छ ।

जिल्ला कमिटीले भदौ १२ गतेभित्र प्रदेश कमिटीमा सिफारिस गर्ने छ । प्रदेश कमिटीले भदौ १५ गतेभित्र केन्द्रमा सिफारिस गर्ने छ भने केन्द्रीय कमिटीले भदौ २० गतेभित्र निर्णय गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्