आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित,भोलि १ बजे बस्ने
काठमाडौं, भदौ ५ । आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।संसद सचिवालयका अनुसार काँग्रेस नेता प्रदीप गिरिको निधनका कारण बैठक स्थगित भएको हो ।
गिरिको श्रद्धाञ्जली, अन्त्येष्टि लगायतका कार्यक्रममा सांसदहरू व्यस्त हुनुपर्ने भएकाले बैठक स्थगित गरिएको हो ।अब बैठक भोलि (सोमबार) दिउँसो १ बजे बस्ने भएको छ । । भोलि बस्ने बैठकमा शोक प्रस्ताव पास हुने सचिवालयले जनाएको छ।
नेपालको समकालीन राजनीतिका एक प्रखर विचारक नेता गिरी विसं २०२१ पछि राजनीतिमा सक्रिय भएका हुन्। हाल प्रतिनिधिसभा सदस्य रहेका उनी विसं २०२४ मा वनारसमा नेपाल छात्र संघमा निर्वाचित भएका थिए।
उनी विसं २०५१ को संसदीय निर्वाचनमा सिरहा ५ बाट निर्वाचित हुनुका साथै संविधानसभा सदस्य निर्वाचन २०६४ मा कांग्रेसको तर्फबाट समानुपातिक सभासद चयन भई संविधान निर्माणको जिम्मेवारीमा संलग्न भएका थिए। यसैगरी दोस्रो संविधानसभा सदस्य निर्वाचन २०७० मा पनि कांग्रेसको तर्फबाट समानुपातिक सभासद चयन भएका थिए।
नेता गिरी प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा सिरहा–१ बाट निर्वाचित भएका हुन्। विसं २००४ मा सिरहाको वस्तीपुरमा पिता मित्रलाल गिरी र आमा पुण्यप्रभा गिरीका सुपुत्रका रूपमा उनको जन्म भएको थियो।















प्रतिक्रिया दिनुहोस्