स्वेच्छिक अवकाशसम्बन्धी निवेदन स्वीकृत हुँदैनः मन्त्री पण्डित

काठमाडौं ।  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले वर्तमान सरकार कर्मचारीको सेवा र सुविधा वृद्धि गर्न तयार रहेको बताउनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङमा बिहिबार आयोजित जिल्लास्थित कार्यालय प्रमुखको भेलामा उहाँले भन्नुभयो – कर्मचारीले पहिले आफूलाई खटाएको स्थानमा जानुपर्छ, अनि मात्र सेवा र सुविधा वृद्धि गरिने छ ।”

मन्त्री पण्डितले कुनै पनि कर्मचारीको स्वेच्छिक अवकाशसम्बन्धी निवेदन स्वीकृत नहुने उल्लेख गर्दै मन्त्री र सचिवकोमा धाउँदैमा समायोजन नरोकिने स्पष्ट पार्नुभयो ।

प्राविधिक कर्मचारी स्थलगत रुपमा कार्य नगरेकाले आज देशको यस्तो दुर्दशा भएको छ बताउँदै उहाँले कामको क्षेत्रसँग विषय नमिलेका कारण नै आफूले प्राविधिक कर्मचारीलाई प्रशासनमा जाने रोकेको जानकारी दिनुभयो ।

मन्त्री पण्डितले सरकारले निजामती कर्मचारीको तालीम, विदेश अध्ययन भ्रमणअनुसार राज्यलाई प्रतिफल दिनुपर्नेमा जोड दिँदै स्वेच्छिक अवकास अधिकार होइन, सुविधा मात्र हो भन्नुभयो ।

जनतालाई प्रत्यक्ष अनुभूति हुने गरी सार्वजनिक सेवा प्रवाह गर्न निजामती कर्मचारीलाई आग्रह गर्दै उहाँले उच्च मनोबलका साथ आफ्नो पदीय जिम्मेवारी वहन गर्न कर्मचारीलाई निर्देशन पनि दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्