कांग्रेसलाई पेल्ने मौका यहि भनेर सोचियो भने गठबन्धनको परिणाम राम्रो आउँदैन: महामन्त्री थापा

काठमाडौं, साउन ४ ।  सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धन दलहरुबीच संविधान, आर्थिक सामाजिक विषय र विदेश नीतिमा साझा धारणा बनाएर मात्र चुनावमा जानुपर्ने बताएका छन् ।

उनले चुनाव जित्नका लागि मात्र गठबन्धन गर्दा कांग्रेसलाई घाटा हुने बताएका छन् । गठबन्धनको सिट बाँडफाँट कार्यदल सदस्य समेत रहेका महामन्त्री थापाले कांग्रेसको संगठन र मतदाताको मनोविज्ञान अन्य सहयात्री दलले नबुझ्ने हो भने सोचे जस्तो परिणाम नआउने बताएका छन् । उनले २ हजार मत भएको दललाई २० हजार खन्याएर २२ हजार मत बनाउन नसकिने बताए ।

महामन्त्री थापाले भने, ‘विदेश नीतिको कुरा आउनासाथ गठबन्धनकै अर्का साथीले हामीलाई दलाल भन्छन्, राष्ट्रघाती भन्छन् । दलाल भनेको छ फेरि गठबन्धन पनि बसेको छ । राष्ट्रघातीसँग किन बसेको त ? त्यसैले अब चुनाव अघि नै गठबन्धन गरेर जाँदै गर्दा यस्ता विषयमा न्युनतम समझदारी हुनुपर्छ ।’

आफू चुनावअघि गठबन्धनको पक्षमा नरहे पनि पार्टीको वहुमतले तालमेल गर्ने निणर्य गरेको बताए । उनले चुनावपछि गठबन्धनका दलहरु सँगै जान्छन् भन्ने ग्यारेन्टी नरहेकाले न्युनतम विषयमा साझा अवधारणा लिएर जनतामा जानुपर्ने बताए ।

महामन्त्री थापाले अहिलेसम्म कार्यदलमा कसले कति सिट पाउने भनेर मुख नखोलेको भन्दै २०७४ सालको चुनावमा कसले जितेको थियो भनेर ती ठाउँ छाड्ने हो भने कांग्रेसलाई मत दिने मान्छेहरुले नमान्ने दावी गरे । उनले भने, ‘मंसिर ४ गते हुने निर्वाचनको लागि म कार्यलदलको सदस्य भएको नाताले भन्दै छु आजसम्म त्यहाँ कसैले मुख खोलेको छैन ,सबै त्यहाँ बस्ने चिया खाने अनुहार हेर्ने समोसा खाने काम भएको छ । बल्ल अब केहि होला की ।’

उनले भने, ‘कांग्रेसको संगठनात्मक अवस्था, अस्ती भर्खरको स्थानीय चुनावलाई हेरौं । कांग्रेसलाई यहि बेला दल्न मिल्छ, पेल्न मिल्छ भनेर सोचियो भने परिणाम फरक आउन सक्छ । हाम्रा मतदाताको मनोविज्ञान गठबन्धन दलले बुझेनन् भने सोचे जस्तो परिणाम ल्याउन गाह्रो छ ।’ उनले सिट बाँडफाँट गर्न बनाएको कार्यदलको बैठकबाट कुनै ठोस निस्कर्ष आउन नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्