वाम एकता घोषणा वैशाख १० गते, नेतृत्वमा दुई अध्यक्षबाहेक पदाधिकारी नरहने

काठमाडौं । एमाले र माओवादी केन्द्रले कम्युनिस्ट पार्टी स्थापना दिवस पारेर बैशाख १० गते पार्टी एकता घोषणा गर्ने भएका छन् ।

स्थापनापछि पटक पटक फुट देखिएको कम्युनिस्ट आन्दोलन एकजुट भएको सन्देश दिन दुवै पार्टीले दिवसकै दिन रोजेका हुन् ।

२००६ बैशाख १० गते नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो । २०१९ सालबाट फुट्न थालेको कम्युनिस्ट पार्टीका दुईटा मूलधारका रुपमा एमाले र माओवादी छन् ।

अब दुवै मिल्न लागेकाले कम्युनिस्ट आन्दोलन नै एकीकृत हुने उनीहरुको तर्क छ ।

उक्त दिनसम्ममा एकता खाकालाई अन्तिम रुप दिन दुवै दलका कार्यदलले काम गरिरहेका छन् ।

एकतासम्बन्धी संगठनात्मक संरचना र सैद्धान्तिक राजनीतिक विषयसम्बन्धी गृहकार्य गर्न गठित कार्यदलले काम अन्तिम चरणमा पुर्‍याइसकेको छ । कार्यदल सदस्यमध्ये धेरै जना मन्त्री भएकाले केही दिनयता एकतासम्बन्धी छलफल अघि बढन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्