भ्रष्टाचार गरेर, देशलाई दुःख दिएर पनि राजनीति हुन्छ ? : अध्यक्ष ओली

काठमाडौं , साउन ३१ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीमती र सालाहरू अगाडि सारेर देशमा भ्रष्टाचार गरिरहेको आरोप लगाएका छन् ।

अध्यक्ष ओलीले प्रधानमन्त्री देउवाले आफन्तमार्फत देशलाई दुःख दिएको र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले छोरीलाई मेयर बनाउन मरिहत्ते गरेकै कारण केहीले राजनीतिलाई घृणा गरेको समेत बताए ।

आज मङ्गलवार काठमाण्डौमा आयोजित ‘युवा महिला र राजनीति’ विषयक विचार गोष्ठीमा बोल्दै उनले व्यापारीका प्रतिनिधिलाई ल्याएर करको दर हेरफेर गरेपछि राजनीतिमा घृणाभाव जागृत भएको तर्कसमेत गरे ।

अध्यक्ष ओलीले सत्तारूढ दलका नेताहरूले राजनीति नगरेको उल्लेख गर्दै त्यसकाविरुद्ध लड्न पनि सबैलाई आह्वान गरे । तयसैगरि  एमाले अध्यक्ष केपी ओलीले महिला आन्दोलनका नाममा विकृतितर्फ जान नहुने बताएका छन् ।

काठमाडौंमा मंगलबार आयोजित अखिल नेपाल महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महिला आन्दोलन विकृतितर्फ जान लागेकालाई रोक्न पार्टीका महिलापंक्तिलाई आग्रह गरेका हुन् ।

महिला जागरण र महिला सशक्तीकरणलाई गलतरुपमा व्याख्या गर्न नहुने बताएका उनले राजनीतिमा महिलाको संख्या धेरै हुनुपर्नेमा जोड दिए ।

महिलाहरूले राजनीति नगरे आधा समाज पछाडि पर्ने बताउँदै अध्यक्ष ओलीले महिलालाई राजनीतिमा आउन हौसाए । महिलाले राजनीति नगरे आधा समाजले राजनीति नगर्ने उनको भनाइ छ ।

राजनीतिप्रति घृणा गर्नु भनेको देश बनाउने कुरालाई घृणा गर्नु रहेको भन्दै उनले राजनीति देश बनाउने र जनताको समस्या समाधान गर्दै समृद्धि गर्ने विषय रहेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्