माधव नेपाललाई स्थानीय निर्वाचनको अंकगणितले साथ दिएन, रौतहटबाट चुनाव लड्ने निश्चित

काठमाडौं, साउन ३१ ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहटबाट चुनाव लड्ने निश्चित भएको छ।

यसअघि काठमाडौंको क्षेत्र न. २ बाट चुनाव जितेको नेपाल यस पटक सुरक्षित स्थान खोज्दै रौतहट फिर्ता हुन लागेको हुन्। उनले नेपाली कांग्रेसका दिपक कुँइकेललाई करिब १३ मतले हराएका थिए।

अहिलेको स्थानीय तहको निर्वाचनको तथ्याङक विश्लेषण गर्दा आफू नजित्ने देखेपछि उनी रौतहट जान थालेका हुन्। नेपालका स्वकिय सचिव मोहन गौतम भने यो विषयमा कुनै निर्णय भइनसकेको बताउँछन्। ‘काठमाडौंको क्षेत्र नम्बर २ पनि हुनसक्छ, रौतहट पनि हुनसक्छ’, उनले नागरिकन्यूजसँग भने।

२०७४ सालमा माधवकुमार नेपालले काठमाडौं क्षेत्र नम्बर २ बाट २७ हजार ३६६ मत ल्याएका थिए। काठमाडौं क्षेत्र न. २ को अहिलेको स्थानीय तहको निर्वाचनलाई हेर्ने हो भने एमालेले १७ हजार ३ सय २८, कांग्रेसले १४ हजार १ सय २८ र नेकपा एसले ७ हजार ९ सय ११, माओवादीले ३ हजार १ सय ३१ मत पाएको छ।

त्यसैगरी यस क्षेत्रमा राप्रपा पनि बलियो रहेको छ। राप्रपाको मत ७ हजार२ सय रहेको छ। राप्रपा बाहेक गठबन्धन भएमा २५ हजार मत रहेको छ। यसैगरी एमालेसँग राप्रपाको सहकार्य भएमा २५ हजार नै पुग्नेछ। यो क्षेत्रमा माधवकुमार नेपाललाई निकै संकट रहेको छ। यही विश्लेषणलाई आधारमा मानेर नेपाल रौतहटबाट उठ्न लागेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्