काठमाडौं महानगरपालिकाले भन्यो- बन्चरेडाँडामा बिनाअवरोध फोहोर विसर्जन भइरहेको छ

काठमाडौँ , साउन ३१ । धादिङको धुनिबेंसी–१ स्थित बन्चरेडाँडा ल्यान्डफिल साइटमा मंगलबार बिनाअवरोध फोहोर विसर्जन भइरहेको काठमाडौं महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले मंगलबार बिहानैदेखि काठमाडौंबाट गाडीहरू निर्वाध रूपमा गइरहेको बताएका छन् ।

सोमबार बिहान धुनिबेंसी-१ मा सत्तारुढ दलकै नेता कार्यकर्ता र स्थानीयले अवरोध गरे पनि दिउँसो प्रहरी परिचालन गरी फोहोर विसर्जन गरिएको थियो । मेयर बालेन्द्र शाहले सोमबार २ सय ३ गाडी फोहोर विसर्जन गरिएको जानकारी दिएका थिए ।मंगलबार भने बिहानैदेखि फोहोर बोकेर काठमाडौंबाट ल्यान्डफाइल साइटमा गाडीहरू गइरहेको प्रवक्ता मानन्धरले बताए । धादिङ प्रहरी र नुवाकोट प्रहरीले पनि बाटोमा कुनै अवरोध नभएको बताएका छन् ।

त्यस्तै धादिङको खानीखोला प्रहरी चौकीका प्रहरी निरीक्षक अपूर्व ढुंगानाले पनि धादिङतर्फ कुनै अवरोध नभएको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बन्चरेडाँडा ल्यान्डफिल साइटमा जीवनपुर प्रहरी चौकीबाट एउटा टोली सुरक्षामा खटाइएको छ ।यता सत्तारुढ दलका स्थानीय नेताहरूले नै आइतबार बन्चरेडाँडामा फोहोर फाल्न नदिने भन्दै विज्ञप्ति जारी गरेका थिए ।

काठमाडौँको फोहोर व्यवस्थापनमा महानगरले बारम्बार अवरोध झेल्दै आउनु परेको छ।

प्रतिक्रिया दिनुहोस्