प्रहरी समायोजन गर्ने प्रधानमन्त्रीको आश्वासन, मधेसको आन्दोलन भयो स्थगित

काठमाडौं, साउन ३१ । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावपछि बन्ने गठबन्धन सरकारले प्रहरी समायोजन गर्ने आश्वासन दिएपछि मधेस सरकारले संघीय सरकारविरुद्धको आन्दोलन स्थगित गरेको छ ।

नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह जनकपुर आएकै दिन मंगलबार प्रदेश सरकारले आन्दोलन रोकेको हो । मुख्यमन्त्री लालबाबु राउतसँग महानिरीक्षक सिंहले भेटघाट पनि गरेका छन् । मधेस सरकारले आन्दोलन रोक्ने घोषणा गरेपछि मात्रै सिंहले राउतलाई भेटेका थिए ।

महानिरीक्षक सिंह प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा सहभागी हुन जनकपुर आएका हुन् । उक्त कार्यक्रममा मधेसका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह सहभागी भएका थिए ।

प्रदेश प्रमुखको कार्यालय अगाडि मधेस सरकारले तीन दिनदेखि धर्ना दिँदै आएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावछि अर्को गठबन्धनको सरकारले प्रहरी समायोजन गर्ने मौखिक आश्वासनको आधारमा प्रदेश सरकारले आन्दोलन फिर्ता लिएको हो । चुनावपछि बन्ने सरकारले प्रहरी समायोजन गर्छ भन्ने प्रधानमन्त्री देउवाले मौखिक आश्वासन दिएकाले आन्दोलन स्थगित गरेको मुख्यमन्त्री लालबाबु राउतले बताए ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले चुनावपछि प्रहरी समायोजन गर्ने सरकारले आफूकहाँ प्रतिबद्धता गरेको धर्नास्थलमा भएको पत्रकार सम्मेलनमा जानकारी दिए । प्रदेश गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहको नेतृत्वमा आन्दोलन सुरु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्