बञ्चरेडाँडामा फोहोर फाल्न बारम्बार नयाँ अवरोध

काठमाडौं, साउन २९ ।  काठमाडौँको फोहोर व्यवस्थापनमा महानगरले बारम्बार अवरोध झेल्दै आउनु परेको छ।

एक महिनादेखि नउठेको फोहोर हिजो देखि पुन: महानगरले उठाउन सुरु गरेकाे थियो। काठमाडौं महानगरपालिकाको वातावरण विभाग प्रमुख सीता राईका अनुसार आज बिहान पनि तारकेश्वर नगरपालिका तिनपिपले कागती गाउँमा फोहोरको गाडीले बाख्रा मारिदिएको भन्दै केही स्थानीयले पुनः अवरोध गरेका थिए।

काठमाडाैं महानगरका प्रवक्ता नवीन मानन्धरले बाख्रा मरेपछि कागती गाउँका पिडितहरूसँग वार्ता गर्न सुरक्षा टोली बञ्चरे डाँडा पुग्ने बताए। उनका अनुसार सुरक्षाकर्मी र स्थानीयबीच सहमति भए र अन्य कुनै अवरोध नआए फोहोर व्यवस्थापनको कार्य अगाडि बढ्छ।

हिजो (साउन २८ गते) पनि फोहोर बोकेर १५२ वटा गाडीहरु बञ्चरे डाँडा ल्याण्डफिल साइडमा पुगेका थिए। आजदेखि संख्या बढाएर दैनिक २५० देखि ३५० वटासम्म फोहोर बोकेका गाडी बञ्चरे पुर्‍याउने योजना बनाइएको थियो।

तारेकश्वर नगरपालिका वडा नं.३ का अध्यक्ष पर्शुराम अर्यालका अनुसार गएराति अज्ञात समूहले तीनपिप्ले आठमाइल नजिक ढकाल खोलामा करिब ३ ट्रक फोहोर फाले। पानीको मुहानमा फोहोर फालिएको जनाउँदै स्थानीयले विहान सडक अवरुद्ध गरेका थिए।

महानगरका प्रमुख बालेन्द्र साहले फोहोर व्यवस्थापनमा उत्पादकदेखि व्यवस्थापनको चक्रमा काम गर्ने सबैको सहयोग आवश्यक रहेको बताए। काठमाडौँबाट ७५ गाडी र त्यति नै मात्रामा अरु पालिकाहरुबाट दैनिक फोहोर उत्सर्जन हुने भएकाले हरेक दिन १५० गाडी फोहोरको व्यवस्थापन हुनु पर्ने साह बताउँछन्। ‘अवरोधले संकलित फोहोरलाई नियमित अवस्थामा पुर्‍याउन केही समय लाग्नेछ।’ उनले भने।

विविध प्रतिकुलताका बाबजुद फोहोर व्यवस्थापनमा खटिनेहरुको प्रशंशा गर्दै प्रमुख साहले, अवरोध नगर्ने स्थानीय, फोहोर संकलन तथा लैजान सफाइ कर्मचारी र चालकहरु,अवरोध खुलाउन क्रियाशील सुरक्षाकर्मीसहित सम्बद्ध सबैलाई धन्यवाद दिएका छन्।

‘हामी यो पनि विश्वास दिलाउन चाहन्छौँ कि सिसडोलको दुरावस्था बञ्चरेमा दोहोर्याउने छैनौँ। थुप्रिएको फोहोर व्यवस्थापन नभइ अन्य विकल्पहरुमा जानु व्यवहारिक रुपमा कठिनाइ भएकाले मात्रै बाध्य भएर अहिलेको व्यवस्थापनको तरिका अपनाइ रहेका हौँ।’ प्रमुख शाह भने, ‘फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि योजनाहरु छन्। तिनको कार्यान्वयनका लागि हदैसम्म प्रयास गरिनेछ। हाम्रो अन्तिम लक्ष्य फोहोरको त्यस्तो व्यवस्थापन हो, जहाँ कोही पनि फोहोरबाट आक्रान्त हुनु पर्दैन, कसैले गुमाउनु पर्दैन र सबैको साझा जीत हुनेछ।’

फोहोर व्यवस्थापन चक्रका बारेमा वातावरण विभाग प्रमुख सीता राई भन्छिन् ‘साइटमा फोहोर खन्याएर मात्र हुँदेन। त्यसलाई सम्याउनु पर्छ। थिच्नुपर्छ। ग्याँस निष्कासन हुने भेन मिलाउनु पर्छ। माटोले छोप्नु पर्छ। साइट व्यवस्थापनका लागि डोजरको क्षमता र जनशक्तिको क्षमता मिलाउनु पर्छ।’ उनका अनुसार सडक अवरुद्ध गर्ने खालको अवरोध त छँदै छ त्यसमा खाल्टाखुल्टी र पहिरो तथा संख्यात्मक रुपमा धेरै गाडीहरु दोहोरो रुपमा चलाउन कठिन हुन्छ। यी समस्या महानगरपालिकाको एक्लो समस्या वा एक्लैले समाधान गर्न सकिने खालको होइन।

आलेटारमा रहेको शसस्त्र प्रहरी बेस क्याम्प साउन २८ गतेदेखि बञ्चरे डाँडामा सारिएको छ। साउन २३ गते राति फोहोर व्यवस्थापनमा प्रयोग हुने साधन तथा उपकरणमा तोडफोड भएपछि सुरक्षा पोष्ट सारिएको हो।

प्रतिक्रिया दिनुहोस्