संसद्मा गम्भीर प्रश्न– राष्ट्रपति देशको हुन्छ कि एउटा अमुक पार्टीको ?

काठमाडौं, साउन २९ ।  सांसद लीलादेवी सिटौलाले राष्ट्राध्यक्षको जिम्मेवारीमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीका विषयमा संसद्मा गम्भीर प्रश्न उठाएकी छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा जनता समाजवादी पार्टी (जसपा)की सांसद सिटौलाले राष्ट्रपतिले कानुन प्रमाणीकरण गर्दा समेत कुन पार्टीको सरकारले पठाएको भनेर व्यवहार गर्ने गरेको भन्दै यसले उक्त पदमाथि नै गम्भीर प्रश्न उठाएको बताइन् ।

उनले केपी शर्मा ओली नेतृत्वको सरकारले संसद्मा नागरिकता विधेयक ल्याए पनि तीन वर्षसम्म रोकेर राखेको भन्दै प्रधानमन्त्रीको कुर्सी हल्लिएपछि अध्यादेश जारी गरेको बताइन् । त्यस्तो बेला ओलीलाई सहयोग गर्न उही दिन अध्यादेशमा लालमोहर लगाइएको भन्दै उनले अहिले त्यही अध्यादेश विधेयकका रूपमा पारित गरेर पठाउँदा राष्ट्रपति भण्डारीले दलीय राजनीति गरेको आरोप लगाइन् ।

“ओलीजीको सरकार छँदा नागरिकता विधेयक हिजो संसद्मा ल्याउनुभयो । समितिमा पठाएपछि २२ महिनासम्म संसद्मा ल्याउनु भएन,” सिटौलाले भनिन्, “जब प्रधानमन्त्रीको कुर्सी हल्लियो, उहाँले अध्यादेशमार्फत नागरिकता ऐन ल्याउनुभयो । हाम्रो सम्माननीय राष्ट्रपतिले त्यही दिन लामोहर लगाइदिनुभयो ।”

उनले त्यही अध्यादेश विधेयकका रूपमा संसद्बाट पारित गरेर पठाउँदा राष्ट्रपतिले दलीय राजनीति गरिरहेको जिकिर गरिन् ।

“आज त्यही अध्यादेशको रूपमा केपी शर्मा ओलीले ल्याउनुभएको विधेयक संसद्मा आएर पास भएर गयो । तर, अहिलेसम्म राष्ट्रपतिले लामोहर लाउनुभएको छैन,” सांसद सिटौलाले भनिन्, “विडम्बना, राष्ट्रपतिजस्तो गरिमामय पद राष्ट्रको हुन्छ कि कुनै पार्टीको हुन्छ ? म सम्माननीय पदमा बस्ने व्यक्तिको ध्यानाकर्षण गराउन चाहन्छु ।”

धेरै व्यक्ति नागरिकताविहीन हुँदा पनि राष्ट्रप्रमुख र प्रतिपक्ष दलले राजनीति गरिरहेको उनको आरोप छ । नागरिकता ऐन आफूले चाहेजस्तो बनाउन सरकारमा छँदाको तीन वर्ष काम नगरेको भन्दै ओली र नेकपा (एमाले)लाई ऐनका विषामा विमति राख्ने नैतिकता समेत नभएको उनले बताइन् ।

“आज धेरै नागरिक नागरिकताविहीन छन् । यदि, नागरिकतामा अब्जेक्सन थियो भने तीन–तीन वर्ष सरकार चलाउँदा नागरिकता ऐन किन नबनाएको ?,” प्रमुख प्रतिपक्ष दललई प्रश्न गर्दै सांसद सिटौलाले भनिन्, “आमाको पनि नागरिकता छ, बाउको पनि नागरिकता छ । छोराछोरी नागरिकता नपाएर तड्पिएको र आत्महत्या प्रयास गरेको खबर आइरहेको छ । तर, किन प्रतिपक्षी दल र देशको सम्मानित पदमा बस्नेका ध्यान पुग्न सक्दैन ? म संसद् र बुद्धिजीवी वर्गको ध्यानाकर्षण गराउन चाहन्छु ।”

उनले प्रमुख प्रतिपक्ष एमालेले नैतिकता भुलेर जहिले पनि दोहोरो भूमिका खेलिरहेको समेत आरोप लगाइन् । “एमसीसी पास गर्नुपर्छ भनेर पूर्वप्रधानमन्त्री ओलीले बोलेका ओडियो भिडियो रेकर्ड यत्रतत्र सर्वत्र छन्,” उनले भनिन्, “अहिले एमसीसीमा हाम्रो संलग्नता थिएन भनेर एमाले नेताहरू चुनावी भाषण गरिरहेका छन् ।” उनले यस्तो दाहोरो भूमिकाले राजनीतिलाई गैरजिम्मेवार बाटोमा तानिरहेको उल्लेख गरिन् ।

प्रतिक्रिया दिनुहोस्