संघीय सरकारविरुद्ध मधेश प्रदेश सरकारद्वारा आन्दोलन घोषणा

काठमाडौं, साउन २८ । प्रहरी समायोजन नभएको भन्दै मधेस सरकारले संघीय सरकारविरुद्ध पहिलो चरणको आन्दोलन घोषणा गरेको छ ।

मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले शनिबार पत्रकार सम्मेलन गरेर आन्दोलन घोषणा गर्नुभएको हो । मन्त्री साहले पहिलो चरणको कार्यक्रमअन्तर्गत प्रदेश प्रमुखको कार्यालयअगाडि धर्ना गरिने जानकारी दिनुभयो ।

२९ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म २ घण्टा प्रदेश प्रमुखको कार्यालयअगाडि १ सातासम्म धर्ना बस्ने उहाँले बताउनुभयो । १ सातासम्म पनि संघीय सरकारले माग सम्बोधन नगरे दोस्रो चरणको आन्दोलन घोषणा गर्ने मन्त्री साहले बताउनुभयो ।

धर्नामा प्रदेशका मन्त्री, सांसद र नागरिक समाजको सहभागिता रहने पनि मन्त्री साहले बताउनुभयो । संघले रोक्ने र प्रदेशले थुत्ने रस्साकसीमा पेचिलो बनेको प्रहरी समायोजनलाई आन्दोलनबाटै टुंग्याउने चेतावनी प्रदेश सरकारले दिएको हो ।

मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री साहले प्रहरी समायोजन गरेर र प्रमुख जिल्ला अधिकारीलाई प्रदेशमातहत ल्याएर मात्रै चुनावमा जानुपर्ने शर्त राख्नुभएको छ ।

यसअघि मधेस सरकारले प्रहरी समायोजन ७ दिनभित्र नटुंग्याए आन्दोलन गर्ने चेतावनीसहित गत आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षणपत्र पठाएको थियो । प्रदेश प्रमुख हरिशंकर मिश्रमार्फत मधेसका गृह तथा सञ्चारमन्त्री साहले प्रधानमन्त्री देउवालाई ध्यानाकर्षणपत्र पठाउनुभएको थियो ।

संविधानको अनुसूची ६ मा प्रदेश प्रहरी र शान्ति–सुरक्षाको बन्दोबस्त प्रदेशको एकल अधिकार सूचीमा राखिएको छ । त्यसैलाई आधार बनाएर मधेस प्रदेशले २०७५ असार १० मा प्रदेश सभामा दर्ता गराएको प्रदेश प्रहरी ऐन पास भई २०७५ पुस १५ मा प्रमाणीकरणसमेत भइसकेको छ ।

प्रहरी ऐन ल्याएपछि मधेस सरकारले प्रदेश प्रहरी गठन गर्न खोज्दा संघले रोकेको छ ।

प्रतिक्रिया दिनुहोस्