अहिलेको सबैभन्दा ठूलो चुनौती नेताहरुलाई मिलाउनु : प्रचण्ड

काठमाडौं, साउन २८ -सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो दर्ल वामपन्थी आन्दोलनको पहिलो पार्टी बन्ने दावी गरेका छन् । पोष्ट बहादुर बोगटी स्मृति प्रतिष्ठानको साधारणसभामा सम्बोधन गर्दै प्रचण्डले आगामी निर्वाचनमा पार्टीलाई एकताबद्ध गर्नसके देशको नेतृत्व माओवादीले गर्ने निश्चित रहेको बताएका हुन् ।

प्रचण्डले भने, ‘प्रदेश र संघको निर्वाचनमा पनि जुन आकर्षण माओवादी केन्द्रमा परेको छ । त्यसलाई बचाउन सक्नुपर्छ । अब त समूहगतरुपमा एकता हुने कुरा अन्तिम चरणमा छ । वामपन्थी आन्दोलनको पहिलो पार्टी बन्ने सम्भावना पूरै छ । आगामी निर्वाचनमा पार्टीलाई एकताबद्ध गर्नसके देशको नेतृत्व हाम्रो पार्टीले गर्ने निश्चित छ। यो परिवर्तन सानो त्यागले आएको होइन ।’

संसदमा भएको अलोकतान्त्रिक र असंवैधानिक प्रहार जितेको बताएका छन् । सबै विचार र राजनीतिक मुद्दामा निकट भएका शक्तिहरुलाई एकताबद्ध गर्नुपर्ने बताए । प्रचण्डले भने, ‘अहिले पनि जनतामा माओवादीप्रति आशा र भरोसा टुटेको छैन । अगाध आस्था र विश्वास छ । कहीँ धर्मराएको छ भने नेतामा धर्मराएको छ ।’

पार्टीभित्रैको अन्तरविरोधका कारण विगतमा जितेको निर्वाचनभन्दा योपटक केही स्थानीय तहमा हार व्यहोर्नुपरेको बताए । आउने निर्वाचनमा यो परिवर्तनलाई अझ विकसित गर्न जरुरी रहेको र त्यसका लागि यो पार्टीलाई एकताबद्ध गर्न आवश्यक रहेको बताए ।

प्रचण्डले भने, ‘नेताहरु एक ढिक्का भएर जाने हो भने जनता जुरुक्कै उठ्छन् । सबैभन्दा ठूलो चुनौती नेताहरुलाई मिलाउन सक्नु नै हो । हाम्रै पार्टीका नेताहरु एकले अर्कालाई खुट्टा तान्ने, के गरी हराउने हो ? तछाड र मछाड भएको छ । जनताका लागि होइन नेताका लागि छानविन समिति बनाउनुपर्ने अवस्था छ ।’

प्रतिक्रिया दिनुहोस्