तराकारीको मूल्यमा अत्याधिक वृद्धि  , एक महिनामा मूल्य ७२० प्रतिशतसम्म बढ्यो

काठमाडौं, साउन २७ ।  पछिल्लो एक महिनामा तराकारीको मूल्य अत्याधिक वृद्धि भएको छ । एक महिनाको अन्तरालमा दैनिक उपभोग गरिने तरकारीको मूल्य ७२० प्रतिशतसम्म बढेको कालिमाटी फलफूल तथा तरकारी बजारको तथ्यांक छ ।

गत असार २८ गतेको तुलनामा प्रायजसो तरकारीको मूल्य अत्याधिक बढेको हो । २८ असार प्रतिकेजी ६५ रुपैयाँमा पाइने हरियो धनिया साउन २७ गते (आज) ७२०.५१ प्रतिशत वृद्धि भएर बिक्री भइरहेको छ । आज हरियो धनियाको मूल्य ५३३.३३ रुपैयाँ पुगेको छ ।

प्रतिकेजी ८६.६७ रुपैयाँ किनबेच भएको जिरीको सागको मूल्य पनि ११९.२२ प्रतिशत वृद्धि भएर आज १९० रुपैयाँ पुगेको छ । कुरिलोको मूल्य एक महिनाको अन्तरालमा प्रतिकेजी ९४.१२ प्रतिशतले वृद्धि भएको छ । २८ असारमा २८३.३३ रुपैयाँमा बिक्री भएको कुरिलो आज ५५० रुपैयाँमा बिक्री भएको छ ।

हरियो फर्सीको मूल्य पनि प्रतिकेजी ९० प्रतिशत वृद्धि भएको छ । असार २८ गते प्रतिकेजी ३५ रुपैयाँमा खरिद भएको हरियो फसीको मूल्र्य आज ६६.६७ रुपैयाँ पुगेको छ । यस्तै च्याउ (डल्ले)को मूल्य ८३.२२ प्रतिशतले वृद्धि भएको छ । असार २८ गते ३०० रुपैयाँ रहेकोमा आज ५५० रुपैयाँ पुगेको छ ।

त्यस्तै रायो साग ८८.५६ प्रतिशतले वृद्धि भएर १६५ रुपैयाँमा बिक्री भइरहेको समितिले जानकारी दिएको छ । बोडीको मूल्य किलोमा ८८.५७ प्रतिशतले वृद्धि भएको छ । असार २८ गते ३५ रुपैयाँ रहेको बोडीको मूल्य आज ६६ रुपैयाँ पुगेको छ । यस्तै कागतीको मूल्य पनि एक महिनामा ६९.०५ प्रतिशतले वृद्धि भएको छ । असार २८ गते १४० रुपैयाँमा बिक्री भएको कागती आज २३६ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्