कार्यदलमा सहमति जुट्न नसकेका विषय शीर्ष तहबाट टुंगिन्छन्: कृष्ण सिटौला (अन्तर्वार्ता)

काठमाडौं, साउन २७ । आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा तालमेलका लागि सिट बाँडफाँडको प्रस्ताव तयार पार्न गठित पाँचदलीय कार्यदलले शीर्ष नेताहरूको सिट सुरक्षित गर्ने रणनीतिसहित छलफल अगाडि बढाएको छ ।

बिहीबार सिट बाँडफाँडको आधार र मापदण्डमा सैद्धान्तिक सहमति जुटेको र शीर्ष नेता सुरक्षित रहने गरी अगाडि बढ्ने विषयमा छलफल अघि बढेको कार्यदल सदस्यहरूले बताएका छन् ।

कार्यदलका एक सदस्यले पाँचै दलका शीर्ष नेताहरूलाई संसद्मा उपस्थित गराउने गरी सिट बाँडफाँड गर्ने गरी मापदण्ड र आधारबारे छलफल भएको बताए ।यसैबीच कार्यदल संयोजकको जिम्मेवारी पाएका कृष्ण सिटौलासँग गरिएको कुराकानी यस प्रकार छ

कार्यदल संयोजकको जिम्मेवारी पाउनुभएको छ, अब कसरी काम थाल्नुहुन्छ ?

हामीले आ–आफ्नो पार्टीमा पनि छलफल गर्नुपर्ने हुन्छ । कार्यदलमा बसेर पनि छलफल गर्नुपर्ने हुन्छ । हतार गरेर पनि निर्णय गर्न सकिँदैन, साह्रै ढिला गर्ने अवस्था छैन । गठबन्धनमा रहेका दलमा मतदातालाई कसरी जोड्ने भन्ने मुख्य विषय हो । कसरी भोटलाई एक पार्टीबाट अर्को पार्टीमा जोड्न सकिन्छ, कुन तरिका अपनाउने भन्ने विषयमा क्रमिक छलफल गर्दै जानेछौँ । र, टुंगोमा पुग्नेछौँ ।

पहिलो बैठकमा के भयो, दलहरूका प्रस्ताव प्रवेश गरे कि ?
पहिलो बैठकमा कुनै पनि दलबाट सिटबारे दाबी प्रस्तुत भएको छैन । गठबन्धनमा रहेका सबै दलले आगामी निर्वाचनमा तालमेल गरेरै जाने निर्णय गरेका छन् । तालमेल गरेर जाँदा तालमेलको आवश्यकताबारे अवधारणा चाहिन्छ भन्ने विषयमा छलफल प्रवेश गरेको छ ।

तालमेलका प्रारम्भिक आधार के हुन सक्छन् ?

मूलतः विगतका निर्वाचन नै हुन् । वैशाखको स्थानीय तह निर्वाचन, २०७४ को संसदीय निर्वाचन, तत्कालीन अवस्थामा मतदातामा देखिएको ‘रुझान’लगायत समग्र विषय तालमेलको आधार हुनेछन् । यसबारे दल र कार्यदलमा विस्तृत छलफल हुन्छ । सिट सीमित छन्, दलहरूका धेरै दाबी रहने होलान् ।

तालमेल निकै कठिन छ भनिन्छ नि ?
कार्यदलले आफ्नो तहमा सुल्झाउन सक्ने विषय सुल्झाउँछ । विषय पेचिलो बनेको अवस्थामा शीर्ष तहमा छलफल हुन्छ र टुंगो लाग्छ ।

कार्यदलमा कहिलेसम्म काम सक्नुहुन्छ ?
कार्यदललाई समयसीमा नै त तोकिएको छैन । जतिसक्दो छिटो कार्यदलले टुंगोमा पुर्‍याउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्