कोरोनाबाट एकैदिन ५ जनाको मृत्यु, ८१५ संक्रमित थपिए

काठमाडौं, साउन २६ । पछिल्लो २४ घण्टामा ८१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चार हजार ५३४ वटा नमुना परीक्षण गर्दा ८१५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै कोरोनाबाट आज पाँचजनाको संक्रमणका मृत्यु भएको छ । योसँगै कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ११ हजार ९८२ पुगेको छ ।

यसैबीच आज ४७६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ८६९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यता ५ हजार ६७७ जना होम आइसोलेसनमा रहेका छन् भने १९२ जना संस्थागत आइसोलेसन र ६० जना आईसीयूमा छन् ।   यस्तै ८ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

यसैगरि पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा २४९ जना कोभिड १९ संक्रमित थपिएका छन् । आज काठमाडौंमा १८३, भक्तपुरमा ७ र ललितपुरमा ५९ जना संक्रमित थपिएका हुन् ।

योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या तीन हजार ८७९ पुगेको छ । उपत्यकाबाहिर सबैभन्दा धेरै आज कास्कीमा ६८ जना संक्रमित देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्