स्वदेश फर्किए प्रचण्ड: भने- जापान भ्रमण निकै उपलब्धिमूलक भयो

काठमाडौं, साउन २५ । पाँच दिने भ्रमण सकेर आज बुधवार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड स्वदेश फर्किएका छन् । प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफ्नो जापान भ्रमण निकै उपलब्धिमूलक भएको दाबी गरेका छन् ।

पत्रकारसँग कुरा गर्दै उनले आफ्नो भ्रमण उपलब्धिमूलक रहेको र नेपाल–जापानको दुई पक्षीय सम्बन्ध विस्तार गर्ने हिसाबले भ्रमण सफल रहेको पनि बताए । साथै उनले आउँदो मङ्सिर ४ गते हुन लागेको संसदीय चुनावमा पर्यवेक्षणका लागि जापानी संसदीय टोलीलाई नेपाल बोलाएको र टोलीले आउने आश्वासन दिएको समेत जानकारी गराए ।

भ्रमणका क्रममा जापानी सरकारी टोली र पार्टीका नेताहरूसँग सूचना प्रविधि, कृषि, पर्यटन, फोहर व्यवस्थापन र जलविद्युतका विषयमा सहकार्य र सहयोग रहने विषयमा कुरा राखेको प्रचण्डले बताए ।

यसैबीच उनले हिजो जापानमै आफ्ना लागि राखिएको रात्रिभोजमा प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराई पनि सहभागी भएको र त्यसले नेपालमा चुनावको बेलामा के सत्तापक्ष के प्रतिपक्ष भन्ने राम्रो सन्देश दिएको पनि बताए ।

यसैगरि उनले प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरणमा ढिलाई गर्न नहुने बताएका छन् । उनले विधेयक राष्ट्रपतिले रोक्न नहुने पक्षमा आफू रहेको बताएका हुन् । उनले नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नुपर्ने बताएका हुन् ।

‘राष्ट्रपतिले नागरिकता विधेयक रोक्नु हुन्न’, पत्रकाहरुको जिज्ञासामा उनले भने, ‘विधेयक जारी गर्न पनि ढिला गर्नु हुँदैनथ्यो।’

संघीय संसद्‌का दुवै सदनबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेकी छैनन् । साउन १५ गते राष्ट्रपति कार्यालय पुगेको विधेयक ११ दिन हुँदासम्म पनि प्रमाणीकरण भएको छैन । विधेयक प्रमाणीकरण नभएकोबारे दाहालले जापानमा पनि टिप्पणी गरेका थिए ।

संविधानको धारा ११३ मा प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस भएको विधेयक १५ दिनभित्र प्रमाणीकरण गरी त्यसको सूचना यथासम्भव चाँडो दुवै सदनलाई दिनुपर्ने व्यवस्था छ ।

राष्ट्रपति भण्डारीले भने नागरिकता विधेयकबारे विचार गरिरहेको बताइएको छ । नागरिकता विधेयक प्रमाणीकरण नगर्न र प्रमाणीकरण गर्न भनेर राष्ट्रपतिकहाँ विभिन्न व्यक्ति र समूहले भेट गरिरहेको अवस्थामा सत्तारुढ दलका प्रमुख नेताको यस्तो प्रतिक्रिया आएको हो ।

 

प्रतिक्रिया दिनुहोस्