सरकारले गर्यो स्वास्थ्य मन्त्रालयका ५ उच्च अधिकारीको जिम्मेवारी हेरफेर

काठमाडौं, साउन २५ । सरकारले स्वास्थ्य मन्त्रालयका ५ उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेको छ । स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले मन्त्रीस्तरीय निर्णय गर्दै ५ जना उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेका हुन् ।

जस अनुसार लामो समयदेखि रिक्त रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वय महाशाखाको जिम्मेवारी डा.सन्जयकुमार ठाकुरले पाएका छन् ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक ठाकुरलाई महाशाखाको जिम्मेवारी दिइएको हो । यस्तै, डा.ठाकुरको ठाउँमा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयकी सचिव रिता जोशीलाई तानिएको छ ।

स्वास्थ्य सेवा विभागमा कान्ति बाल अस्पतालमा कार्यरत भवनाथ खतिवडालाई सरुवा गरिएको छ भने केन्द्रका निर्देशक केशवराज पण्डितलाई मन्त्रालयमा ल्याइएको छ । यस्तै, हेटौंडाको राष्ट्रिय किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको निर्देशकमा डा।विश्वबन्धु बगालेलाई पठाइएको छ ।

यसअघि औषधि व्यवस्था विभागका महानिर्देशक समेत भइसकेका र मन्त्रालयमा फाजिलमा रहेका नारायण ढकाललाई प्रदेश नं. १ को प्रदेश स्वास्थ्य निर्देशनालयमा काजमा खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्