रसुवामा पहिरो जाँदा गोसाइँकुण्डका तीर्थयात्री मर्कामा

काठमाडौं, साउन २५ । रसुवामा पहिरो जाँदा गोसाइँकुण्डका तीर्थयात्री मर्कामा परेका छन् ।
गएराति रसुवामा रहेको बनुवा धुम्ती क्षेत्रको राजमार्गमा पहिरो गइ गाडी आवागमन पूर्ण रूपमा बन्द हुँदा तीर्थयात्री समस्यामा परेका हुन् ।

उत्तरगया गाउँपालिका–५ मा रहेको माझगाउँ र बनुवा घुम्तीबीच पिपलबोट आसपास क्षेत्रमा सडक मार्ग भत्किएर पहिरो जाँदा गोसाइँकुण्ड मेला भर्न जाने तीर्थयात्री मर्कामा परेको बताएको छ । पहिरोले बेसीतर्फकाबस्तीलाई प्रभावित पारेको छ भने अन्नबालीमा समेत क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

पहिरोबाट मानवीय क्षति भने नभएको जनाइएको छ । प्रहरी निरीक्षक झलक शर्मा पौडेलका अनुसार सडक खुलाउने प्रयासको साथै क्षतिको विवरण लिने काम बिहानैदेखि सुरु भएको छ । पहिरोका कारण बेत्रावती, पहिरेबेसी, मैलुङ खण्डको नयाँ सडकमा समेत गाडी आवागमन पूर्ण रूपमा बन्द भएको बताइएको छ ।

जनैपूर्णिमाको अवसरमा लाग्ने पवित्र तीर्थ गोसाइँकुण्ड मेला भर्न जाने यात्रुलाई धुञ्चे पुर्याउन स्थानीयस्तरमा रहेका गाडी परिचालन गरिने प्रहरीले जनाएको छ । उत्तरी भेगमा रहेका पासाङल्हामु तथा टिमुरे यातायात समितिको बसले गोसाइँकुण्ड जाने यात्रुलाई यातायातको सुविधा दिने तर निजी गाडी भने प्रभावित हुने बताइएको छ ।

बनुवा घुम्ती सडकदेखि त्रिशूली नदीसम्म पुगेको पहिरोको दूरी करिब दुई किलोमिटर रहेको र जमिन तथा अन्नबाली ठूलो मात्रामा नोक्सान भएको लहरेपौवाका डा। सरोज श्रेष्ठले जानकारी दिए ।

पहिरोका कारण नौबिसे क्षेत्रमा निजी आवाससमेत प्रभावित भएका डा श्रेष्ठले बताउनुभयो । सडकको नालीमा बग्ने पानी व्यवस्थित हुन नसक्दा पहिरोको समस्या उत्पन्न भएको र क्षतिको यथार्थ विवरण आउन बाँकी रहेको ‍ उनले बताए ।

प्रतिक्रिया दिनुहोस्