गाई’ पायौं भन्दै खुशियाली मनाएका कमल थापाले गाई नपाउने राणाको दाबी
काठमाडौं, साउन २४ । राप्रपा नेपालले चुनाव चिन्हका रुपमा माग्दै आएको गाई चिन्ह पाउने कि नपाउने भन्ने वहसको पेसी सरेको छ । केही समयअघि नै आफूहरुले ‘गाई’ चिन्ह पाएको भन्दै राप्रपा नेपालले खुशियाली मनाएको थियो ।
सर्वोच्च अदालतले आजको लागि तोकिएको पेसी आगामी २९ गतेसम्मका लागि सारेको छ । गत आइतबार आजका लागि पेशी तोकिएको थियो । राप्रपा नेपालका राष्ट्रिय अध्यक्ष प्रदीपबिक्रम राणाले राप्रपा नेपाललाई गाई चिन्ह दिन नहुने भनेर सर्वोच्चमा गत साउन ८ गते निवेदन दिनुभएको थियो । राणाले निवेदन दिएपछि विवादित बन्दै आएको गाई चिन्ह राप्रपा नेपाललाई दिन नमिल्ने भन्दै राप्रपाले पनि आपत्ति जनाएको छ । राप्रपाले आफ्नो झण्डामा गाई भएकाले अर्को पार्टीलाई निर्वाचन चिन्ह दिनु अव्यवहारिक भएको जनाएको छ ।
कुनै समय राप्रपा नेपालको निर्वाचन चिन्ह गाई थियो । गाई चिन्ह भएकाले नै राप्रपाले समानुपातिकतर्फ धेरै मत ल्याएको थियो । निर्वाचन आयोगले राप्रपा नेपाललाई गाई चिन्ह दिन नमिल्ने जनाइसकेको छ । राप्रपा नेपाल आफूहरुले स्थापना गरेकाले अर्को बाटोबाट आएर कमल थापा अध्यक्ष भएको भन्दै राणाले आपत्ति जनाउँदै आउनुभएको छ । राणा र थापाबीच पार्टीको आधिकारिकतासम्बन्धी विवाद पनि कायमै छ । गत फाल्गुण १ गते थापा अध्यक्ष बन्नुभएको थियो ।
राप्रपा नेपालका राष्ट्रिय अध्यक्ष प्रदीपबिक्रम राणाले राप्रपा नेपाललाई गाई चिन्ह नपाउने दाबी गर्नुभएको छ । राणाले निर्वाचन आयोगमा निर्वाचनका लागि दल दर्ता गर्ने समय छोटो भएकाले राप्रपा नेपालले चुनाव चिन्ह गाई पाउन नसक्ने बताउनुभएको छ । अहिले राप्रपा नेपालको चुनाव चिन्ह तीर रहेको छ । राणाले राप्रपा नेपालले मुद्धा फिर्ता लिएर सहयोग गर्न आफूलाई पार्टीले विभिन्न प्रलोभन दिएको भए पनि त्यसलाई बेवास्ता गरेको बताउनुभयो । राणा २०७३ सालमा भएको राप्रपाको एकता महाधिवेशनमा थापासँग अध्यक्षमा प्रतिस्पर्धा गर्नुभएको थियो । राणाले आफ्नो पक्षमा धेरै मत आए पनि गणना गर्दा नदेखाइएको आरोपसमेत लगाउनुभएको छ ।















प्रतिक्रिया दिनुहोस्